काठमाण्डौ । स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. सापकोटाले सार्वजनिक सेवामा रहँदा वैधानिक आम्दानीको तुलनामा अस्वाभाविक रूपमा बढी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार सापकोटा स्वास्थ्य मन्त्रालयअन्तर्गत विभिन्न कार्यालयमा कार्यरत रहँदा काठमाडौँलगायतका सहरमा महँगा घडेरी खरिद गरेको, घर निर्माण गरेको, सवारीसाधन खरिद गरेको र आम्दानीसँग मेल नखाने जीवनशैली अपनाएको भन्दै उजुरी परेको थियो।
उक्त उजुरीपछि आयोगले उनी सार्वजनिक सेवामा प्रवेश गरेको २०५३ साउन २५ गतेदेखि २०८० वैशाख ३० गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी सम्पत्ति र आयव्ययको छानबिन गरेको जनाएको छ।
अनुसन्धानका क्रममा सापकोटाको पारिश्रमिक, भत्ता, सवारीसाधन तथा जग्गा बिक्री, घरबहाल, कृषि, सेयर बिक्रीलगायत स्रोतबाट कुल वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा रहेको आयोगको दाबी छ।
तर सोही अवधिमा घरजग्गा खरिद, घर निर्माण, सेयर तथा सवारीसाधन खरिद, कर्जा भुक्तानी, अध्ययन तथा वैदेशिक भ्रमणलगायत शीर्षकमा कुल ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च भएको आयोगले जनाएको छ।
यस आधारमा कुल आय र व्ययबीच २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बराबरको अन्तर देखिएको र उक्त रकम बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न नसकेको अख्तियारको आरोप छ।
आयोगले सापकोटामाथि सार्वजनिक पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको र सम्पत्ति विवरणसमेत झुट्टा पेस गरेको आरोप लगाएको छ। सोही आधारमा प्रचलित भ्रष्टाचार निवारणसम्बन्धी कानुनअनुसार बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
अख्तियारका अनुसार स्रोत नखुलेको भनिएको सम्पत्तिबाट सापकोटाकी श्रीमती निरजा पण्डितको नाममा समेत घरजग्गा तथा अन्य सम्पत्ति खरिद भएको पाइएको छ। उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पण्डितलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
मुद्दामा दोषी वा निर्दोष ठहर गर्ने अन्तिम निर्णय भने विशेष अदालतबाट हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।