काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा बारम्बार हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा अध्ययन सुरु गरेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभिरको समस्या समाधानका लागि दुई विकल्पमा प्राविधिक अध्ययन अघि बढाइएको जानकारी दिए।
उनका अनुसार कृष्णभिर क्षेत्रभित्रबाट सुरुङ निर्माण गर्ने वा पहिरो प्रभावित क्षेत्रभन्दा अगाडितर्फ भायोडक्ट बनाएर सडक जोड्ने विकल्पमाथि अध्ययन भइरहेको छ।
प्राविधिक अध्ययन सुरु भइसकेको र करिब दुई महिनाभित्र प्रतिवेदन तयार हुने जैशीले बताए। प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने विभागको तयारी छ।
‘कृष्णभिरमा दीर्घकालीन समाधानका लागि भित्रबाट सुरुङ खन्ने अथवा अगाडितिर भायोडक्ट बनाएर सडक जोड्ने गरी अध्ययन सुरु भइसकेको छ,’ जैशीले समितिमा भने, ‘करिब दुई महिनामा प्राविधिक प्रतिवेदन आउँछ। त्यसपछि ठेक्का प्रक्रियामा जान्छौँ।’
कृष्णभिर क्षेत्रमा पटक–पटक पहिरो जाँदा पृथ्वी राजमार्गको यातायात प्रभावित हुँदै आएको छ।
पछिल्लो समय भदौ १० गते आएको भोटेकोशी–रसुवा बाढीको प्रभावका कारण साविकको सडक खण्डमा क्षति पुगेको थियो। भदौ १४ गते कृष्णभिर क्षेत्रको सडकसमेत भत्किएको थियो।
तत्कालका लागि भत्किएको सडकको माथिल्लो भागबाट ट्र्याक खोलेर सवारी आवागमन सञ्चालन गरिएको छ।
तत्कालीन समस्या समाधानसँगै भविष्यमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले वैकल्पिक सडक निर्माणको कामसमेत अघि बढाइएको विभागले जनाएको छ।
महानिर्देशक जैशीका अनुसार फिस्लिङ र बेनिघाटतर्फ पुलको पारिपट्टिबाट सडक लैजाने वैकल्पिक मार्ग निर्माणको काम सुरु भइसकेको छ।
फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम सुरु गरिएको उनले जानकारी दिए।
उक्त वैकल्पिक सडक निर्माण सम्पन्न भएपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा समस्या आए पनि वैकल्पिक मार्गमार्फत यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ।
‘फिस्लिङतिर करिब साढे एक किलोमिटर भिर काट्ने काम सुरु भइसकेको छ,’ जैशीले भने, ‘यो काम सकिएपछि मुख्य राजमार्गमा समस्या आए पनि वैकल्पिक सडक छिट्टै सञ्चालनमा ल्याउन सकिने गरी काम भइरहेको छ।’
सरकारले सुरुङ वा भायोडक्टमध्ये कुन विकल्प प्राविधिक तथा व्यावहारिक रूपमा उपयुक्त हुन्छ भन्ने निष्कर्ष अध्ययन प्रतिवेदनका आधारमा तय गर्ने तयारी गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।