काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीका तीन विद्यालय तथा मकवानपुरस्थित सामाजिक संस्था मामाघर नेपाललाई विभिन्न सामग्री सहयोग गरेको छ।
बैंकले कैलालीको टीकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय, खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय तथा टीकापुर नगरपालिका–१ स्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन थप सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले कम्प्युटर, ल्यापटप तथा प्रिन्टर सहयोग गरेको हो।
हाल १९६ भन्दा बढी विद्यार्थी अध्ययनरत सेती मैयाँ चौधरी माध्यमिक विद्यालयलाई असोज ५ गते आयोजित विशेष कार्यक्रममा बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टीकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रूपमा एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे।
उक्त सामग्री विद्यालयका प्रधानाध्यापक पतीराम चौधरीलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
त्यस्तै, १ हजार १७७ भन्दा बढी विद्यार्थी अध्ययनरत वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरिएको छ।
बैंकका धनगढी सर्कल हेड विष्ट र टीकापुर शाखा प्रमुख विष्टले विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
त्यसैगरी, १०२ भन्दा बढी विद्यार्थी अध्ययनरत भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई एक थान ल्यापटप र एक थान प्रिन्टर प्रदान गरिएको छ। उक्त सामग्री विद्यालयका अध्यक्ष वीर बहादुर खड्कालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
मामाघर नेपाललाई खाद्यान्न र सरसफाइ सामग्री
बैंकले मकवानपुरको हेटौंडा–४, कान्तिराजपथस्थित मामाघर नेपाल मकवानपुरलाई पनि सहयोग उपलब्ध गराएको छ।
बाबुआमा नभएका तथा सहाराको आवश्यकता भएका २४ भन्दा बढी बालबालिकालाई खाने–बस्ने सुविधासहित आश्रय दिँदै आएको संस्थालाई असोज २ गते आयोजित विशेष कार्यक्रममा आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको हो।
बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित के.सी. र वीरगञ्ज सर्कल हेड गोपाल प्रसाद सुवेदीले संयुक्त रूपमा मामाघर नेपाल मकवानपुरका कोषाध्यक्ष ईश्वर सिल्वाललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
बैंकले विद्यालयहरूलाई उपलब्ध गराएको सामग्रीबाट विद्यार्थीको पठनपाठन थप सहज हुनुका साथै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ।
त्यस्तै, मामाघर नेपाललाई प्रदान गरिएको खाद्यान्न तथा सरसफाइ सामग्रीले त्यहाँ आश्रित बालबालिकाको दैनिक जीवन थप सहज बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।