काठमाण्डौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनको बहसले संगठनभित्र तलसम्म ध्रुवीकरण र कित्ताकाटको अवस्था सिर्जना गरेको बताएका छन्।
पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले निर्वाचनको परिणामलाई सामूहिक चुनौती र जिम्मेवारीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्नेमा पार्टीभित्र अस्वस्थ बहस बढेको टिप्पणी गरे।
उनले पार्टीका सम्पूर्ण समस्याको कारण अध्यक्षलाई मात्रै ठान्ने र नेतृत्व विस्थापन नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने तर्कले संगठनलाई थप विभाजित गरेको बताए।
‘आजका सम्पूर्ण समस्याको कारक पार्टी अध्यक्ष हो र उहाँलाई विस्थापन नगर्दासम्म पार्टी अगाडि बढ्दैन भन्ने तर्क गर्ने, पार्टीका नियमित कामलाई समेत अवरुद्ध गर्ने र पार्टीभित्र तलैसम्म कित्ताकाट गर्दै अस्वस्थता सिर्जना गर्ने स्थिति उत्पन्न भयो,’ ज्ञवालीले भने।
उनले पार्टी पुनर्गठनको बहस नै विभाजनका लागि गरिएको हो भन्ने ढंगले समेत व्याख्या हुन थालेको उल्लेख गर्दै अब कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पार्टीलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा राखे।
त्यसको अगुवाइ पार्टी अध्यक्षले गर्नुपर्ने उनको भनाइ थियो।
‘पार्टीको आन्तरिक लडाइँमा जित्नुपर्ने अब कुनै लडाइँ बाँकी छैन,’ उनले भने, ‘ध्यान योजनाबद्ध नेतृत्व विकासमा केन्द्रित हुनु जरुरी छ। पार्टीको मुख्य नेता र अभिभावकका रूपमा अध्यक्षको भूमिका, व्यवहार, परम्परा र अभ्यासले पार्टीमा भावनात्मक एकता कायम गर्न ठूलो महत्व राख्छ।’
ज्ञवालीले एमालेले निर्वाचनमा धक्का खानुको कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु पनि रहेको बताए।
पार्टीभित्र प्रतिस्पर्धालाई निषेध गर्न नसकिने भए पनि त्यसलाई स्वस्थ बनाउने र प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने नयाँ विधि खोज्नुपर्ने उनको भनाइ थियो।
‘यसका लागि नेतृत्वको निष्पक्ष र अभिभावकीय भूमिका आवश्यक छ,’ उनले भने।
‘अवसर पाएकाहरू नै किन बढी असन्तुष्ट ?’
ज्ञवालीले पार्टीबाट धेरै अवसर पाएकाहरू नै बढी असन्तुष्ट देखिएको भन्दै त्यसबारे समेत समीक्षा आवश्यक रहेको बताए।
उनले प्रश्न गरे, ‘सबैभन्दा धेरै अवसर पाएकाहरू नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो? अवसर प्राप्ति नै राजनीतिको मुख्य विषय हो भन्ने सन्देश गएको हो कि अवसर दिँदा सही मूल्याङ्कन नभएको हो?’
‘मलाई छद्म रूपमा प्रतिवेदन लेख्नुपर्ने आवश्यकता छैन’
बैठकमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनसँग आफ्नो नाम जोडिएको विषयमा पनि ज्ञवालीले स्पष्टीकरण दिएका छन्।
यसअघि विभिन्न सञ्चारमाध्यमले ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा छुट्टै २९ पृष्ठको प्रतिवेदन तयार गरेको उल्लेख गरेका थिए। ज्ञवालीले भने आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको बताएका छन्।
उनले आफू नियमित रूपमा लेख्ने व्यक्ति भएको उल्लेख गर्दै छद्म रूपमा प्रतिवेदन तयार गर्नुपर्ने आवश्यकता नरहेको बताए।
‘प्रदीप ज्ञवालीको कुनै छुट्टै प्रतिवेदन छैन,’ उनले भने, ‘म लेख्छु। दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्, हजारभन्दा बढी लेख पत्रिकामा छापिएका छन् र अन्तर्राष्ट्रिय फोरमहरूमा प्रस्तुत गरिएका धेरै पेपर छन्। त्यसैले मलाई छद्म रूपमा लेख्नुपर्ने आवश्यकता छैन।’
पार्टीभित्र समस्या उत्पन्न भएका बेला समन्वयको भूमिका निर्वाह गर्नु गलत नभएको उनको भनाइ छ।
उनले पार्टीभित्र ध्रुवीकरण चर्किँदा कुनै एउटा कित्तामा उभिएर अतिवादी विचार राख्दा मिडिया कभरेज पाइने भए पनि आफूलाई त्यसको लोभ नरहेको बताए।
‘त्यो समाधान पनि होइन,’ उनले भने, ‘पार्टीभित्रका समस्या समाधानमा हरेक कमरेडले योगदान गर्नुपर्छ।’
ज्ञवालीले पार्टीका कतिपय विषयलाई समयअगावै सार्वजनिक बहसमा ल्याउने, असहमतिलाई विरोधको तहमा पुर्याउने र सामाजिक सञ्जालमार्फत फैलाउने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए।
उनले ‘मिडिया हाइप’ले क्षणिक चर्चा दिए पनि त्यसबाट दिगो राजनीतिक नेतृत्व निर्माण नहुने टिप्पणी गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।