काठमाण्डौ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सुरु हुनेछ।
प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रियसभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस हुने
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा सभासमक्ष जानकारी गराउनेछन्।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रमसमेत रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्।
यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
यसैबीच, आज सङ्घीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिको बैठक पनि बस्ने भएको छ।
निर्धारित कार्यतालिकाअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।