काठमाण्डौ । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सीधा उडान पुनः सञ्चालन गर्ने भएको छ। कम्पनीले आगामी सेप्टेम्बर २८, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) र चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) बीच नियमित सीधा उडान सुरु गर्ने घोषणा गरेको हो।
उडान पुनः सुरु भएसँगै हिमालय एयरलाइन्स काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित सीधा उडान सञ्चालन गर्ने वायुसेवा कम्पनी बन्नेछ। यसले नेपाल र चीनको प्रमुख विश्वव्यापी महानगर तथा वित्तीय केन्द्र सांघाईबीच प्रत्यक्ष हवाई सम्पर्क पुनःस्थापित गर्ने कम्पनीले जनाएको छ।
काठमाडौं–सांघाई सीधा उडानले नेपाली तथा चिनियाँ यात्रुलाई दुई शहरबीच सहज, सुरक्षित र छिटो यात्रा सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार नयाँ उडानले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन, व्यापार तथा जनस्तरको सम्पर्क विस्तारमा समेत योगदान पुर्याउनेछ।
नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुँदै गर्दा सांघाई उडान पुनः सञ्चालन हुनुलाई पर्यटन क्षेत्रका लागि समेत महत्वपूर्ण मानिएको छ। चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा होटल, ट्राभल, टुर, यातायातलगायत आतिथ्य क्षेत्रको गतिविधि विस्तार गर्न यो रुट उपयोगी हुने कम्पनीको अपेक्षा छ।
हिमालय एयरलाइन्सले प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई उडान सञ्चालन गर्नेछ। काठमाडौं–सांघाई उडान हरेक सोमबार र शुक्रबार हुनेछ भने सांघाई–काठमाडौं फर्कने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछ।
कम्पनीले यात्रुको माग र उडानको ‘लोड फ्याक्टर’का आधारमा आगामी दिनमा उडान संख्या थप गर्न सकिने जनाएको छ।
उडान तालिका
काठमाडौं (KTM) बाट सांघाई (PVG) जाने उडान सेप्टेम्बर २८ देखि अक्टोबर २३ सम्म सोमबार र शुक्रबार सञ्चालन हुनेछ। उडान काठमाडौंको स्थानीय समयअनुसार साँझ ६:२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ।
त्यस्तै, सांघाई (PVG) बाट काठमाडौं (KTM) फर्कने उडान सेप्टेम्बर २९ देखि अक्टोबर २४ सम्म मंगलबार र शनिबार सञ्चालन हुनेछ। विमान सांघाईबाट बिहान ३ बजे उडेर काठमाडौंमा बिहान ७:१० बजे अवतरण गर्नेछ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–सांघाई रुटमा नियमित उडान पुनः सञ्चालन हुनु नेपाल र चीनबीचको सम्पर्क विस्तारका लागि महत्वपूर्ण हुने बताए।
उनले भने, “हिमालय एयरलाइन्स नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क मजबुत बनाउन प्रतिबद्ध छ। हामीले चीनका नयाँ गन्तव्य खोज्दै नियमित उडान विस्तार गर्दै आएका छौं। काठमाडौं–सांघाई–काठमाडौं रुटमा पुनः सुरु हुन लागेको उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा सहयोग गर्ने विश्वास लिएका छौं।”
श्रेष्ठका अनुसार कम्पनीले यो रुटमा यात्रुलाई सहज र स्मरणीय यात्रा अनुभव प्रदान गर्नुका साथै सुरक्षा र सेवाको उच्च मापदण्ड कायम राख्ने लक्ष्य लिएको छ।
काठमाडौं–सांघाई–काठमाडौं उडानका टिकट हिमालय एयरलाइन्सका टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा हिमालय एयरलाइन्सको मोबाइल एपमार्फत बुक गर्न सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।