काठमाण्डौ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ।
दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
सर्वोच्चले दाहाललाई थप थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै आजकै मितिदेखि तारेखमा राख्न आदेश दिएको छ।
अदालतको आदेशमा दाहालले संविधान तथा कानुनविपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको उल्लेख गरिएको छ।
दाहाललाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले पहिलो पटक तीन दिनको म्याद थप गरेको थियो। उक्त म्याद थप गर्दा बयानलगायत अनुसन्धानको काम सम्पन्न गर्नुपर्ने आधार लिइएको थियो। तर दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको तथ्यलाई सर्वोच्चले आदेशमा उल्लेख गरेको छ।
दाहालले ‘ग्रे–जोन’ सम्बन्धी एक रिपोर्टबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका थिए। त्यसपछि उनलाई साइबर अपराधसम्बन्धी कसुरमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।
उनी पक्राउ परेपछि हिरासतको औचित्य र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषय उठाउँदै परिवारका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनालाई निरन्तरता दिन आवश्यक कानुनी आधार नदेखिएको ठहरसहित दाहाललाई रिहा गरी तारेखमा राख्न आदेश दिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।