काठमाण्डौ । नेकपा एमालेले विगतमा भएका कमी–कमजोरीको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउने संकल्प गरेको छ।
केन्द्रीय कमिटी बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गरेको र पछिल्लो समय देखिएका कतिपय असमझदारी तथा अस्वस्थता अन्त्य भएको दाबी गरिएको छ।
एमालेका अनुसार बैठकमा विगतका कमजोरीबारे गम्भीर समीक्षा गर्दै तिनलाई सच्याउने र आगामी दिनमा दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ।
विज्ञप्तिमा बैठक पार्टी पुनर्जागरण, सुदृढीकरण तथा आन्तरिक एकता मजबुत बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख छ।
एमालेले बैठकबाट पार्टी सुधार तथा रूपान्तरणको मार्गचित्रसमेत तयार भएको जनाएको छ। पछिल्लो समय पार्टीभित्र देखिएका असमझदारी र अस्वस्थता बैठकपछि अन्त्य भएको तथा पार्टी भावनात्मक रूपमा थप एकताबद्ध बनेको दाबी गरिएको छ।
बैठकका निर्णयलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै कार्यान्वयनमा लैजान पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिइएको छ।
एमालेले अब लोकतन्त्रको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्रमुख कार्यभारका रूपमा अघि बढाउने जनाएको छ। त्यसका लागि पार्टीको सांगठनिक शक्ति परिचालन गर्दै केन्द्रीय कमिटी बैठकबाट तय भएका निर्णय र कार्ययोजनामा केन्द्रित हुन नेता–कार्यकर्तालाई आह्वान गरिएको छ।
पार्टी नेतृत्वले आन्तरिक विवाद समाधान भएको दाबी गरे पनि त्यसको प्रभाव आगामी सांगठनिक गतिविधि तथा निर्वाचन तयारीमा कसरी देखिन्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।