काठमाण्डौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनमा उम्मेदवार बन्न चाहनेका लागि विभिन्न पदअनुसार शुल्क निर्धारण गरिएको छ।
डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिअन्तर्गत तयार गरिएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो।
निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यका लागि ५० रुपैयाँ तोकिएको छ भने सबैभन्दा बढी केन्द्रीय सभापति पदका लागि ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।
आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले विभिन्न तहका उम्मेदवारका लागि निश्चित शुल्कको व्यवस्था गरिएको आयोजक पक्षले जनाएको छ।
निर्देशिकाको अनुसूचीअनुसार वडा कार्यसमिति सभापतिका उम्मेदवारले २५० रुपैयाँ तिर्नुपर्नेछ। उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ तथा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ।
गाउँपालिका कार्यसमिति सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ५०० रुपैयाँ तथा सदस्यका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ।
नगरपालिका कार्यसमितिको सभापति पदका लागि २ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ, सहसचिवका लागि १ हजार रुपैयाँ तथा सदस्यका लागि ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, महानगर तथा उपमहानगर कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ लाग्नेछ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका उम्मेदवारले ३ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ। उपसभापति र सचिवका लागि २ हजार ५०० रुपैयाँ, सहसचिवका लागि २ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५०० रुपैयाँ, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० रुपैयाँ तथा केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ।
जिल्ला कार्यसमिति सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार ५०० रुपैयाँ, सहसचिवका लागि ३ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ लाग्नेछ।
प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार रुपैयाँ तथा सदस्यका लागि ३ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
केन्द्रीय तहमा सबैभन्दा बढी शुल्क निर्धारण गरिएको छ। केन्द्रीय सभापतिको उम्मेदवार बन्न ३० हजार रुपैयाँ तिर्नुपर्नेछ भने उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।
देउवा समूहले समानान्तर रूपमा १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेको छ। समूहले वडा तहको अधिवेशनका लागि क्रियाशील सदस्यताको अन्तिम सूचीसमेत निर्वाचन समितिलाई बुझाइसकेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।