काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि अर्थात् केन्द्रीय नेतृत्व छान्ने मतदाताको अन्तिम टुङ्गो लाग्न बाँकी रहँदै महामन्त्री पदमा आकांक्षीहरूको दौड तीव्र बनेको छ।
कांग्रेस विधानअनुसार केन्द्रीय पदाधिकारी तथा सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुन्छन्। तर देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइनसक्दै महामन्त्रीका आकांक्षीहरूले सार्वजनिक घोषणा र आन्तरिक लबिइङ सुरु गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु भएको थियो। कार्यतालिकाअनुसार असोज ७ गते पालिका तथा असोज १० गते प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने योजना थियो।
तर लगातारको वर्षाले अधिवेशन प्रभावित भएपछि निर्वाचन समितिले असोज १३ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने गरी समय थपेको छ। प्राप्त विवरणअनुसार मनाङ, मुस्ताङ र बैतडीमा मात्रै प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ।
यसको अर्थ महाधिवेशनमा मतदान गर्ने प्रतिनिधिहरूको पूर्ण तस्वीर अझै बनेको छैन। तर महामन्त्रीका दुई पदका लागि भने कम्तीमा आठ नेताको नाम चर्चामा आइसकेको छ।
केन्द्रीय नेता नैनसिंह महरलाई डडेलधुरा कांग्रेसले महामन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी भइरहेको सार्वजनिक रूपमा बताएका छन्। उनले पार्टीका विभिन्न तहका नेतासँग छलफल र समन्वय भइरहेको बताएका छन्।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पनि पुनः सोही पदमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको विवरण छ। विशेष महाधिवेशनबाट पौडेल र घिमिरे महामन्त्री बनेका थिए।
त्यसैगरी सहमहामन्त्री उदयशमशेर राणा, पार्टी प्रवक्ता देवराज चालिसे, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण तथा केन्द्रीय नेता मधु आचार्यको नाम पनि महामन्त्रीका सम्भावित आकांक्षीका रूपमा चर्चामा छ।
राणाले पार्टीको आवश्यकता र आन्तरिक परिस्थिति हेरेर निर्णय लिने बताउँदै आएका छन्। चालिसेले भने आफू अहिलेको जिम्मेवारीभन्दा माथिल्लो पदमा दाबी गर्नु स्वाभाविक हुने बताउँदै महामन्त्री वा उपसभापतिमध्ये एक पदमा आकांक्षा देखाएका छन्।
यसैबीच सभापति गगन थापानिकट वृत्तमा मधु आचार्यलाई महामन्त्रीमा अघि सार्ने विषयमा छलफल रहेको बताइएको छ। यद्यपि यसबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन।
महामन्त्रीको प्रतिस्पर्धामा नाम आउने क्रम बढिरहँदा वास्तविक समीकरण भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकिएपछि मात्रै स्पष्ट हुने देखिन्छ। किनकि क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय पदाधिकारी र सदस्यको भविष्य निर्धारण गर्नेछन्।
कांग्रेसमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ। साथै विधानअनुसार सहमहामन्त्री तथा अन्य केन्द्रीय पदमा पनि निर्वाचन र मनोनयनका छुट्टाछुट्टै व्यवस्था रहेका छन्।
यसरी मतदाता को हुने भन्ने नै पूर्ण रूपमा स्पष्ट भइनसकेको अवस्थामा महामन्त्री पदका लागि आकांक्षीहरू भने आ–आफ्नो आधार निर्माण, गुटीय समन्वय र प्रतिनिधिसँग सम्बन्ध विस्तारमा सक्रिय हुन थालेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।