काठमाण्डौ । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरको भरमा सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावर अब सोलार ऊर्जाबाट चल्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् आपूर्ति लामो समय अवरुद्ध हुने अवस्था देखिएपछि नेपाल टेलिकमले टिमुरेमा १२ किलोवाट क्षमताको सोलार प्रणाली जडान गरी सञ्चालनमा ल्याएको हो ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि विद्युत् सेवा अवरुद्ध हुँदा टिमुरे क्षेत्रमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटरबाट चलाइएको थियो । तर टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था बनेको थियो ।
नेपाल टेलिकमले टिमुरे–खैदी क्षेत्रमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरबाट पुर्याएर सोलार प्रणाली जडान गरिएको जनाएको छ ।
सोलार प्रणाली सञ्चालनमा आएपछि टावरका लागि नियमित रूपमा डिजेल ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।
अब विद्युत् आपूर्ति नभएको अवस्थामा पनि टिमुरे क्षेत्रमा नेपाल टेलिकमको टुजी र फोरजी सेवा निरन्तर सञ्चालन गर्न सकिने भएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित विभिन्न स्थानका दूरसञ्चार पूर्वाधार र सेवा प्रभावित भएका थिए । टिमुरेमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा जोगाउन वैकल्पिक ऊर्जा प्रयोग गर्नुपर्ने अवस्था आएको थियो ।
सोलार प्रणाली जडानसँगै स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रमा रहेका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने नेपाल टेलिकमले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।