काठमाण्डौ । असोज ९ गतेदेखि परेको अविरल वर्षा र बाढीका कारण देशका विभिन्न विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। आकस्मिक रूपमा बन्द गरिएका केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा आइसके पनि प्रसारण लाइनका टावरमा क्षति पुगेका कारण केही आयोजना अझै राष्ट्रिय विद्युत् प्रणालीबाहिर छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले ८ वटा विद्युत् आयोजना प्रणालीबाट बाहिर छन्। तिनको कुल जडित क्षमता करिब २३० मेगावाट रहेको छ। बाढीबाट अवरुद्ध भएका सेती–मादी करिडोर तथा मर्स्याङ्दी करिडोरका अधिकांश जलविद्युत् आयोजना भने पुनः सञ्चालनमा आएका छन्।
कालीगण्डकी जलविद्युत् केन्द्रको १४४ मेगावाट उत्पादन पनि सोमबार साँझसम्म सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणले जनाएको छ। राहुघाट सञ्चालनमा आउन १० दिन लाग्ने प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ।
टर्बाइन फ्लोरमा समेत पानी पसेकाले सरसफाइ तथा मर्मतपछि आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। आयोजनाको स्वीचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ।
कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि उक्त लाइनमार्फत विद्युत् प्रवाह गर्ने ७ वटा जलविद्युत् केन्द्रको उत्पादनसमेत प्रभावित भएको छ। राहुघाट सबस्टेसनमा जोडिएका आयोजनामध्ये ४० मेगावाटको राहुघाट जलविद्युत् केन्द्रबाहेक करिब १२७ मेगावाट विद्युत् उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको जनाइएको छ।
कालीगण्डकी करिडोरका दुई टावरमा क्षति कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुस्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। सडक अवरुद्ध भएका कारण क्षतिग्रस्त क्षेत्रमा प्राविधिक टोली तत्काल पुग्न नसकेकाले प्रसारण लाइनमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सुचारु वर्षा तथा बाढीका कारण म्याग्दी, बाग्लुङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् आपूर्ति प्रभावित भएको थियो। तीमध्ये म्याग्दी, बाग्लुङ, तनहुँको झापुटार क्षेत्र र रुकुम पूर्वमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आइसकेको छ।
मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म विद्युत् सुचारु गर्ने लक्ष्य राखिएको छ भने मनाङमा मंगलबारसम्म विद्युत् आपूर्ति पुनःस्थापित गर्ने तयारी छ। प्राधिकरणका वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको समन्वयमा प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएका छन्।
हिउँदको माग धान्न १,१५४ मेगावाट आयातको योजना प्राधिकरणले आगामी सुख्खायाममा विद्युत् माग व्यवस्थापनका लागि भारतबाट विभिन्न माध्यमबाट कुल १ हजार १५४ मेगावाटसम्म विद्युत् आयात गर्ने योजना बनाएको छ।
सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ। आयातसमेत जोड्दा कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ। गत वर्ष सुख्खायाममा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग २ हजार २९२ मेगावाट पुगेको थियो।
भदौ १० को बाढीबाट मात्रै करिब ७.४ अर्ब क्षतिको प्रारम्भिक अनुमान यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३बीको २२० केभी हब तथा विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो।
त्यसबाट विभिन्न आयोजनाको करिब ४३० मेगावाट उत्पादन प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरण तथा यसका सहायक कम्पनीका संरचनामा मात्रै करिब ७.४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।