काठमाण्डौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको नयाँ मिति आज तय गर्ने तयारी गरेको छ।
पार्टीको केन्द्रीय कार्यालयका पदाधिकारी तथा नेताहरूबीच अनौपचारिक छलफल गरी महाधिवेशनको संशोधित मिति टुंगो लगाइने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।
यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो। निर्धारित महाधिवेशनका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणासमेत पठाइसकिएको छ।
तर असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न स्थानमा तल्ला तहका अधिवेशन प्रभावित भएपछि केन्द्रीय महाधिवेशनको मिति केही दिन पछाडि सार्ने विषयमा छलफल सुरु भएको हो।
दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएकाले महाधिवेशन चाडपर्वअघि नै सम्पन्न गर्ने वा त्यसपछि सार्ने भन्ने विषयमा पनि कांग्रेसभित्र छलफल भइरहेको छ।
संस्थापन पक्षका नेताहरूका अनुसार यसबारे आजै निर्णय हुने सम्भावना छ। यद्यपि पार्टीभित्र महाधिवेशन धेरै दिन सार्नुभन्दा एक–दुई दिनमात्र पछि धकेल्ने विकल्पमाथि पनि अनौपचारिक छलफल भइरहेको छ।
यसैबीच, संस्थापनइतर शेरबहादुर देउवा समूहले आगामी मंसिरमा छुट्टै १५औँ महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।