काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को उद्घाटन गर्दै सभामुख अर्यालले सीप आजको समयमा अतिरिक्त योग्यता मात्र नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताए।
संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमै अनुभूति हुने गरी अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै अर्यालले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए। बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको प्रमुख दिशाका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन गरिएको स्मरण गरे। उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन गरेका थिए भने १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका थिए। रोजगारदाताबाट १४ हजार ७८८ जनशक्तिको माग आएको थियो।
स्वदेशमै रोजगारी खोजिरहेका युवा एकातिर र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्था अर्कोतिर देखिनु श्रम बजारको असन्तुलन भएको उल्लेख गर्दै उनले सीप विकास र रोजगार बजारबीच प्रभावकारी तालमेल आवश्यक रहेको बताए।
उनले ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई अझ प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा पनि जोड दिए। श्रमाधान मेला सीपमूलक, उत्पादनशील र मर्यादित रोजगारीतर्फको महत्वपूर्ण पहल भएको उनको भनाइ थियो।
असोज २० गतेसम्म सात दिन सञ्चालन हुने मेलामा उद्यमशीलता, डिजिटल मार्केटिङ, आतिथ्य सत्कार, ब्युटिसियन, कुक तथा वेटर, इलेक्ट्रिक सवारी, वातानुकूलन (एसी) मर्मत तथा बारिस्तालगायत १० विषयमा पूर्णतः निःशुल्क छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ।
मेलामा ६५ वटा स्टलमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।