काठमाण्डौ । प्रतिनिधिसभामा ५०० र १ हजार रुपैयाँ दरका नोट बन्द गर्ने विषयमा बहस सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले कालो धन नियन्त्रणका लागि ठूला दरका नोट तत्काल बन्द गर्नुपर्ने माग गरेपछि सदनमा यस विषयले प्रवेश पाएको हो।
सांसद न्यौपानेले विगत लामो समय सत्ता र शक्तिमा रहेकाहरूले अवैध सम्पत्ति आर्जन गरेर ठूलो परिमाणमा कालो धन थुपारेको आरोप लगाउँदै त्यस्तो रकम अर्थतन्त्रको औपचारिक प्रणालीमा ल्याउन नोटबन्दी उपयोगी हुन सक्ने तर्क गरे।
उनले ५०० र १ हजार रुपैयाँका नोट चलनचल्तीबाट हटाउन सरकारसँग माग गरे।
न्यौपानेको प्रस्तावपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नोटबन्दीबारे प्रतिक्रिया जनाएका छन्। उनले सरकारले यस्तो कदम अघि बढाए आफ्नो पार्टीले समर्थन गर्ने बताए।
दुलालले बहुमतको सरकारसँग निर्णय लिन पर्याप्त अधिकार हुँदाहुँदै पनि नोटबन्दीजस्तो विषयमा किन कदम नचालिएको भन्दै प्रश्न उठाए।
उनले कालो धन नियन्त्रणका लागि सरकार ठोस निर्णय प्रक्रियामा जानुपर्ने धारणा राख्दै नोटबन्दी गर्ने हो भने त्यसमा आफ्नो पार्टीको सहयोग रहने बताए।
यद्यपि ठूला दरका नोट बन्द गर्दा कालो धन नियन्त्रणमा कति प्रभाव पर्छ, नगदमा आधारित अर्थतन्त्रमा त्यसको असर कस्तो पर्छ र सर्वसाधारण तथा व्यवसायमा कस्तो प्रभाव पर्न सक्छ भन्ने विषय भने विस्तृत आर्थिक अध्ययनसँग जोडिएको छ।
प्रतिनिधिसभामा उठेको पछिल्लो मागसँगै नेपालमा नोटबन्दीको औचित्य, सम्भावित लाभ र आर्थिक जोखिमबारे नयाँ बहस सुरु भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।