काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा प्रभावशाली नेतृ किम यो जोङले दक्षिण कोरियालाई कडा चेतावनी दिँदै उत्तर कोरियाली सैनिकमाथि वास्तविक गोली चलाइए तत्काल जवाफी कारबाही गरिने बताएकी छन्।
सेप्टेम्बर २१ मा दुई कोरियाबीचको असैन्यीकृत क्षेत्र (डीएमजेड) नजिक भएको विस्फोटमा तीन दक्षिण कोरियाली सैनिक घाइते भएका थिए। दक्षिण कोरिया र संयुक्त राष्ट्रसंघीय कमान्डको संयुक्त अनुसन्धानले उक्त विस्फोट उत्तर कोरियाली बारुदी सुरुङसँग सम्बन्धित रहेको उच्च सम्भावना देखाएको छ। अनुसन्धानका क्रममा अर्को सक्रिय उत्तर कोरियाली एन्टी–पर्सनल माइनसमेत फेला परेको बताइएको छ।
संयुक्त राष्ट्रसंघीय कमान्डले घटनालाई सन् १९५३ को युद्धविराम सम्झौताको उल्लंघनका रूपमा लिएको छ। उक्त सम्झौताले डीएमजेडभित्र, त्यहाँबाट वा त्यसविरुद्ध हुने शत्रुतापूर्ण गतिविधि निषेध गर्छ। दक्षिण कोरियाले उत्तर कोरियासँग माफी माग्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन जिम्मेवार कदम चाल्न आग्रह गरेको छ।
तर किम यो जोङले दक्षिण कोरियाको अनुसन्धानलाई ‘षड्यन्त्रपूर्ण नाटक’को संज्ञा दिँदै आरोप अस्वीकार गरेकी छन्। उनले उत्तर कोरियाली सैनिकले सीमा उल्लंघन नगरेको दाबी गर्दै दक्षिण कोरियाले सीमा क्षेत्रमा चेतावनीस्वरूप गोली चलाएर तनाव बढाएको आरोप लगाएकी छन्।
उनले उत्तर कोरियाली सैनिकमाथि वास्तविक गोली प्रहार भए सीमामा तैनाथ फौजले ‘तत्काल र कठोर’ जवाफ दिने चेतावनी दिइन्। 'हाम्रो भूमिमा एउटा मात्रै गोली लागे पनि त्यसको परिणामका लागि तयार रहनुपर्छ,' उनको भनाइ उद्धृत गरिएको छ।
दक्षिण कोरियाले भने अन्तिम अनुसन्धानबाट उत्तर कोरियाली माइन नै विस्फोटको कारण पुष्टि भए ‘सम्बन्धित कदम’ चालिने बताएको छ।
यो घटनाले कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप बढ्ने चिन्ता पैदा गरेको छ। हाल दुई देशबीच प्रभावकारी सैन्य हटलाइन सञ्चालनमा छैन भने उत्तर कोरियाले पछिल्लो समय सीमा क्षेत्रमा बारुदी सुरुङ बिछ्याउने, सडक तथा अवरोध संरचना निर्माण गर्ने काम तीव्र बनाएको छ।
दुई कोरियालाई छुट्याउने डीएमजेड विश्वकै सबैभन्दा कडा सैन्य निगरानीमा रहेको सीमाक्षेत्रमध्ये एक हो। ठूलो संख्यामा पुराना तथा नयाँ बारुदी सुरुङ रहेको यस क्षेत्रमा साना घटनाले समेत सैन्य तनाव चर्काउन सक्ने जोखिम रहँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।