काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई पक्राउ गर्न प्रहरी टोली बैंकको मुख्यालय पुगेपछि उनी आपत्कालीन निकासबाट बाहिरिएको कर्मचारीहरूले दाबी गरेका छन्। घटनासँग सम्बन्धित सीसीटिभी फुटेजसमेत हटाइएको आरोप आएपछि बैंकभित्रको सुरक्षा र अभिलेख संरक्षणमाथि प्रश्न उठेको छ।
पर्सा जिल्ला अदालतमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगपत्र दर्ता भई शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएको विवरण प्राप्त भएको छ। सोही प्रकरणमा उनलाई पक्राउ गर्न असोज १३ गते मंगलबार सादा पोशाकका प्रहरी काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको मुख्यालय पुगेको कर्मचारीहरूको भनाइ छ।
बिजशालालाई प्राप्त प्रमाणका आधारमा सीईओ शर्मा लगायतविरुद्ध भदौ २५ गते नै पक्राउ अनुमतिपत्र जारी भइसकेको देखिन्छ ।
घटना प्रत्यक्ष देखेको बताउने एक कर्मचारीका अनुसार, ६–७ जनाको टोली बैंकमा प्रवेश गरेपछि केही कर्मचारीले शर्मालाई त्यसबारे जानकारी दिएका थिए। सूचना पाएलगत्तै उनी कार्यकक्षबाट निस्किएर आपत्कालीन निकासतर्फ गएको ती कर्मचारीले दाबी गरे।
‘टोली लिफ्टबाट माथि आउँदै थियो। उहाँ भने हतारमा कार्यकक्षबाट निस्किएर इमर्जेन्सी एक्जिटतर्फ लाग्नुभयो,’ ती कर्मचारीले भने। उनका अनुसार त्यसबेला शर्मा अत्तालिएको अवस्थामा देखिएका थिए।
यद्यपि, बैंकमा पुगेको टोलीको परिचय, त्यस दिनको घटनाक्रम र शर्मा बाहिरिनुको कारणबारे प्रहरीको आधिकारिक पुष्टि प्राप्त भएको छैन। कर्मचारीहरूको दाबीअनुसार उनी प्रहरीबाट बच्नकै लागि बाहिरिएका हुन् वा त्यसका पछाडि अन्य कारण थियो भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
कर्मचारीहरूले त्यसयता शर्मासँग सम्पर्क हुन नसकेको र उनको मोबाइल फोनसमेत बन्द रहेको बताएका छन्। तर, सम्पर्कविहीन हुनुको कारण र उनको हालको अवस्थाबारे आधिकारिक जानकारी उपलब्ध छैन।
सीसीटिभी फुटेज हटाइएको आरोप
यसैबीच, अर्का एक कर्मचारीले शर्मा बैंकबाट बाहिरिएको समयको सीसीटिभी फुटेज हटाउन लगाइएको दाबी गरेका छन्। कसको निर्देशनमा, कुन उपकरणबाट र कुन समयावधिको फुटेज हटाइएको हो भन्ने विवरण भने खुलिसकेको छैन। उक्त आरोपलाई पुष्टि गर्ने प्राविधिक अभिलेखसमेत प्राप्त भएको छैन।
कर्मचारीहरूले यो विषयको छानबिन माग गरेका छन्। उनीहरूको भनाइमा, बैंकको सुरक्षासँग सम्बन्धित दृश्य अभिलेख मेटाइएको हो भने त्यसले घटनाको अनुसन्धानसँगै आन्तरिक नियन्त्रण प्रणालीको विश्वसनीयतामाथि पनि गम्भीर प्रश्न उठाउँछ।
सीसीटिभी फुटेज हटाइएको दाबीको सत्यता जाँच्न सम्बन्धित समयको रेकर्डिङ, ब्याकअप र प्रणालीमा पहुँच राख्ने व्यक्तिहरूको गतिविधि परीक्षण गर्नुपर्ने देखिन्छ। बैंक सञ्चालक समिति र सम्बन्धित निकायबाट घटनाक्रम स्पष्ट पार्नुपर्ने कर्मचारीहरूको माग छ।
शर्मामाथि लागेको आरोप, मुख्यालयमा प्रहरी पुगेको भनिएको घटना र सीसीटिभी फुटेजसम्बन्धी दाबीबारे शर्मा तथा बैंक व्यवस्थापनको प्रतिक्रिया प्राप्त भएको छैन। अभियोगपत्रमा उल्लेख भएका आरोपको अन्तिम निरूपण अदालतबाट हुन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।