काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कोशी प्रदेशका उद्योगी तथा औद्योगिक संगठनका प्रतिनिधिहरूसँग भेट गरी आन्तरिक रोजगारी प्रवद्र्धनका विषयमा छलफल गरेका छन् ।
भेटका क्रममा इटहरीमा सञ्चालन भइरहेको कोशी प्रदेशस्तरीय सीप तथा रोजगार मेला, २०८३ को समीक्षा गर्दै रोजगारी सिर्जना, सीप विकास तथा श्रम बजारको आवश्यकताअनुसार जनशक्ति उत्पादनका विषयमा छलफल भएको थियो ।
मन्त्री यादवले कार्यस्थलमै आधारित तालिम तथा अन्य सीपमूलक तालिमलाई प्रभावकारी बनाउँदै युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने विषयमा निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए ।
छलफलमा उद्योगको आवश्यकता र श्रम बजारबीचको दूरी कम गर्न उद्योगी तथा व्यवसायीको सहभागितामा सीप विकास कार्यक्रम सञ्चालन गर्ने, तालिमलाई रोजगारसँग जोड्ने तथा रोजगारीसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ गर्दै उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सके आन्तरिक रोजगारीका अवसर विस्तार गर्न सकिनेमा सहभागीहरूले जोड दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।