काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद् अधिवेशन नरहेको समयमा जनतासँग प्रत्यक्ष जोडिएका कतिपय समस्या समाधानका लागि अध्यादेशमार्फत काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कार्कीले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का समस्यासहित देशभरका शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतिसँग सम्बन्धित विषय तत्काल सम्बोधन गर्नुपर्ने बताए।
कार्कीले मोरङ–३ का मतदाताले आफूलाई विभिन्न एजेन्डासहित संसद्मा पठाएको उल्लेख गर्दै भूमिसम्बन्धी समस्या प्रमुख रहेको बताए। त्यसबाहेक अव्यवस्थित विकास, नयाँ विकास योजनाका लागि बजेट, पूर्वाञ्चल विश्वविद्यालय तथा शिक्षण अस्पतालसँग सम्बन्धित विषय पनि समाधानको पर्खाइमा रहेको उनको भनाइ थियो।
‘मोरङ–३ ले मलाई केही एजेन्डा दिएर संसद्मा पठाएको हो। यसमा जग्गाको समस्या सबैभन्दा माथि छ। त्यसपछि असरल्ल विकास र नयाँका लागि बजेट छ। पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताल छ,’ उनले भने।
सांसद कार्कीले विद्यमान संसदीय प्रक्रिया कतिपय स्थानीय समस्या छिटो समाधान गर्न पर्याप्त प्रभावकारी नभएको टिप्पणी गरे। उनले संसदीय प्रक्रियामा सुधार आवश्यक रहेको पनि बताए।
‘संसद्को नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन,’ उनले भने, ‘अब अध्यादेशमार्फत काम अगाडि बढाउनुपर्छ। सरकारको ध्यानाकर्षण गराउँछु।’
उनले प्रक्रियागत ढिलाइका कारण नागरिकले दुःख पाउन नहुने बताए। संसद्को अर्को अधिवेशन सुरु हुँदासम्म आफूले उठाएका विषयले समाधानको बाटो पाउने अपेक्षा रहेको उनको भनाइ थियो।
‘प्रक्रियाको जडताले नागरिकलाई दुःख दिनु हुँदैन। आशा छ, अध्यादेश आएर अर्को अधिवेशन खुल्दा मेरो क्षेत्रको समस्याले समाधानको बाटो भेट्दछ,’ कार्कीले भने।
आज रातिदेखि अधिवेशन अन्त्य
संघीय संसद्को चालू अधिवेशन २८ वैशाख २०८३ बाट सुरु भएको थियो। अधिवेशनका क्रममा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विधेयकहरू पारित भएका थिए।
यस अवधिमा संसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका अध्यादेशसमेत स्वीकृत भएका थिए। ती अध्यादेशले संशोधन गरेका विषय समेटेर प्रतिस्थापन विधेयक संसद्बाट पारित भई ऐनमा रूपान्तरण भएका छन्।
चालू अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका साथै समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका थिए।
गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको थियो। सरकारको सिफारिसअनुसार राष्ट्रपतिले संघीय संसद्को चालू अधिवेशन अन्त्य गरेका छन्।
संघीय संसद्को चालू अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुँदैछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।