काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्ने भएको छ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनीको निरन्तर विश्वास र सहयोगका कारण बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए।
उनले ग्राहक, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाको सहयोगले बैंकलाई हालको अवस्थामा पुर्याएको उल्लेख गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गरिने बताए।
ढकालले ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा दिन डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गर्ने योजनासमेत सुनाए।
सभाले आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेसम्बन्धी प्रस्तावसमेत अनुमोदन भएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले हाल मुलुकका सबै ७७ जिल्लामा आफ्नो बैंकिङ सञ्जाल विस्तार गरिसकेको छ। बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रवाह भइरहेको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।
बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा ‘बेष्ट बैंक नेपाल’ लगायतका सम्मान प्राप्त गरेको जनाएको छ।
यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयरलगायतका अवार्ड पनि प्राप्त गरेको बैंकको भनाइ छ।
यसैबीच, हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्मचारीको एक दिनको तलबसमेत जोडेर ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।