काठमाडौं। नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र मागेको हो।
बोलपत्रमा यसअघि योग्य ठहरिएका सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरू सहभागी हुन सक्नेछन्। योग्य कम्पनीमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ रहेका छन्।
बोलपत्र कागजातका लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ। अक्टोबर १५ गते दिउँसो १२ बजे पूर्वबोलपत्र बैठक हुनेछ भने नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।
बोलपत्रका लागि न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ। बोलपत्रको मान्य अवधि १२० दिन र धरौटीको मान्य अवधि त्यसपछि थप ३० दिन रहनेछ। राष्ट्र बैंकले आवश्यकताअनुसार बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्ने जनाएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।