काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु गर्नुअघि केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बसेको छ।
बन्दसत्रमा पेस गरिने प्रतिवेदन तथा एजेन्डालाई अनुमोदन गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार विभिन्न समितिले तयार पारेका प्रस्तावमाथि छलफल गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि बन्दसत्र सुरु हुनेछ।
उनका अनुसार बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।
बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्दसत्र सम्पन्न भएपछि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
यसैबीच, महाधिवेशन निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ। नामावलीमाथि दाबी–विरोधका लागि समय दिइनेछ भने त्यसपछि प्राप्त दाबी–विरोधमाथि आवश्यक छानबिन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई मतदानमा सहभागी गराउन आवश्यक तयारी अघि बढाएको जनाएको छ।
मंगलबार उम्मेदवारी मनोनयन
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नयाँ केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ।
सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुने निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धाको तस्वीर थप स्पष्ट हुने देखिएको छ। सभापतिसहित विभिन्न पदका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल, भेटघाट तथा समर्थन जुटाउने प्रयासलाई तीव्र बनाउँदै आएका छन्।
बन्दसत्रपछि कांग्रेसको १५औँ महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।