काठमाण्डौ । सरकारले विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँचवटा उजुरी परेको छ।
समितिले सिफारिस भएका व्यक्तिहरूबारे कुनै सूचना वा गुनासो भए प्रमाणसहित उजुरी दिन आह्वान गरेको थियो। सार्वजनिक बिदाका कारण उजुरी दर्ताको समय थपिएपछि सोमबारसम्म पाँचवटा उजुरी परेको समितिले जनाएको छ।
समिति स्रोतका अनुसार मंगलबार बिहान बस्ने बैठकमा ती उजुरी खोलिनेछन्। बैठक बिहान सवा ११ बजे बोलाइएको छ। सोही बैठकमा राजदूतका लागि सिफारिस भएका व्यक्तिहरूको कार्ययोजनासमेत वितरण गर्ने तयारी छ।
सरकारले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको छ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशी सिफारिस भएका छन्।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ।
समितिले गत असोज ८ गते राजदूत सिफारिस भएकाहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। उजुरीमाथि अध्ययन र सुनुवाइ प्रक्रिया पूरा भएपछि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।