काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा भुक्तानी तथा सटहीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न कारोबारमा विदेशी मुद्रा भुक्तानीको सीमा बढाएको छ। विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८२ संशोधन गर्दै आयात, सेवा भुक्तानी, उपचार, हवाईजहाजका पार्टपुर्जा, स्याटेलाइट सेवा तथा भारतसँग हुने कारोबारमा यस्तो सीमा बढाएको हो।
संशोधित व्यवस्थाअनुसार विदेशमा उपचार गर्न जाने नेपाली नागरिकले वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने भएका छन्। यसअघि यो सीमा १६ हजार डलर थियो। बैंक तथा वित्तीय संस्थाबाट हवाईजहाजका इन्जिन वा पार्टपुर्जा विदेशमा मर्मत गरी ल्याउने प्रयोजनका लागि अग्रिम भुक्तानीको सीमा पनि १ लाखबाट ५ लाख डलर पुर्याइएको छ।
नेपाली वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा आयातका लागि अग्रिम भुक्तानी गर्न सक्नेछन्। यसका लागि विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने पुरानो व्यवस्था हटाइएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउन सक्ने वार्षिक सटही सुविधा १५ हजारबाट ३० हजार डलर पुर्याइएको छ। स्याटेलाइट सेवा भाडामा लिने नेपाली दूरसञ्चार सेवा प्रदायकले वार्षिक १ लाखबाट ५ लाख डलरसम्म भुक्तानी गर्न सक्ने भएका छन्।
सेवा आयातमा अग्रिम भुक्तानी गर्दा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्ने सीमा पनि १५ हजारबाट ३० हजार डलर पुर्याइएको छ। भारतस्थित संस्था तथा कम्पनीबाट सेवा लिँदा प्रतिपटकको भुक्तानी सीमा ४० लाखबाट ६० लाख भारतीय रुपैयाँ पुर्याइएको छ।
निर्यातबाट प्राप्त रकम प्रयोग गरी आयातको भुक्तानी गर्न सकिने सीमा तेस्रो मुलुकका लागि १५ हजारबाट ३० हजार अमेरिकी डलर तथा भारतका लागि ३० लाखबाट ६० लाख भारतीय रुपैयाँ पुर्याइएको छ।
पर्यटन व्यवसायमा विदेशी एजेन्टलाई भुक्तानी गर्न पनि प्रक्रिया सहज बनाइएको छ। साथै, सूचना प्रविधि, कृषि, उत्पादन, पूर्वाधार, पर्यटन तथा ऊर्जा क्षेत्रमा कार्यरत नेपाली कम्पनीले विदेशबाट ऋण ल्याउन ‘क’ वर्गका बैंकबाट विदेशी मुद्रामा बैंक ग्यारेन्टी वा स्ट्यान्डबाइ लेटर अफ क्रेडिट जारी गर्न सक्ने व्यवस्था गरिएको छ।
विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आम्दानी गर्ने कार्ड प्रयोगकर्ताले कार्डमा राख्न पाउने मौज्दात सीमा ५ हजारबाट १० हजार डलर पुर्याइएको छ। त्यस्तै, विदेशमा वस्तु तथा सेवा खरिदका लागि प्रयोग गर्न पाउने वार्षिक सटही सुविधा ५ सयबाट बढाएर १० हजार अमेरिकी डलर पुर्याइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।