मंगलवार, आश्विन २०,२०८३ 12:43:43
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 12:43:43
Bizshala
Global IME Bank Limited

बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधनको तयारी, ‘फास्ट ट्रयाक’ अपनाइने

Bizshala
बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधनको तयारी, ‘फास्ट ट्रयाक’ अपनाइने
New Office

 

काठमाण्डौ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी विपद्मा बेपत्ता भएका नागरिकको मृत्यु दर्ता सहज बनाउन सरकारले दुईवटा ऐन संशोधन गर्ने तयारी गरेको छ । कानुनी प्रक्रिया छिटो टुंग्याउन ‘फास्ट ट्रयाक’ विधि अपनाउने तयारीसमेत अघि बढाइएको छ ।

गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव शुभाषकुमार भट्टराईले मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

कानून मन्त्रालयका सहसचिव भट्टराईका अनुसार विद्यमान कानुनी व्यवस्थाका कारण बेपत्ता नागरिकको मृत्यु घोषणा र दर्ता प्रक्रिया जटिल बनेको छ । यसले प्रभावित परिवारलाई राहत, क्षतिपूर्ति तथा अन्य कानुनी सुविधा लिनसमेत कठिनाइ भएको भन्दै कानून संशोधन आवश्यक देखिएको हो ।

गृह मन्त्रालयबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन संशोधनको प्रस्ताव कानून मन्त्रालयमा पुगेको छ । ती प्रस्तावलाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरिएको भट्टराईले बताए ।

हाल मुलुकी देवानी संहितामा रहेको मृत्यु घोषणा तथा दर्तासम्बन्धी प्रक्रिया लामो र झन्झटिलो हुँदा बेपत्ता परिवार थप समस्यामा परेको मन्त्रालयको निष्कर्ष छ । संसद् अधिवेशन नरहेको अवस्थामा समेत संशोधन प्रक्रिया कसरी छिटो टुंग्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भट्टराईले तत्कालीन समस्या समाधानसँगै जलवायु परिवर्तनबाट उत्पन्न विपद्का दीर्घकालीन असर सम्बोधन गर्ने गरी कानुनी सुधार आवश्यक रहेको बताए । उनका अनुसार वातावरण संरक्षण ऐन संशोधन गर्ने वा छुट्टै जलवायु परिवर्तनसम्बन्धी कानून बनाउने विषयमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिनेछ ।

त्यस्तै, जोखिमका आधारमा जग्गाको वर्गीकरण र उपयोग सुनिश्चित गर्न भू–उपयोग ऐन तथा पूर्वाधार सुरक्षासँग सम्बन्धित कानूनमा पनि सुधार आवश्यक देखिएको उनले बताए ।

कानूनमन्त्रीको संयोजकत्वमा गठित विशेष समितिले विभिन्न मन्त्रालयका प्रतिनिधिसँग विपद् व्यवस्थापन, वातावरण संरक्षण, भू–उपयोग र पूर्वाधारसम्बन्धी कानुनी सुधारका विषयमा छलफल गरिरहेको छ ।

बैठकमा गृहसचिव शर्माले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालले भोगेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षतिमध्ये एकका रूपमा उल्लेख गरे । यस घटनाले सरकारको पूर्वतयारी क्षमतामाथि समेत प्रश्न उठाएको स्वीकार गर्दै उनले संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य निकायको संयुक्त प्रयासबाट खोज, उद्धार र राहतको काम अघि बढाइएको बताए ।

उनका अनुसार विपद्पछि हालसम्म स्थल तथा हवाई मार्गबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । १ हजार ४५७ जनाको शव फेला परेको छ भने तीमध्ये १ हजार ३३४ शवको व्यवस्थापन गरिएको छ । ११२ शवको पहिचान गरी परिवारलाई बुझाइएको छ ।

शव पहिचानका लागि २ हजार ६६ जनाको डीएनए नमुना संकलन गरिएको छ । दशैंअघि नै डीएनए परीक्षणको नतिजा ल्याउने गरी काम भइरहेको र आवश्यकताअनुसार विदेशी विज्ञको समेत सहयोग लिएर पहिचान प्रक्रिया तीव्र बनाइएको गृहसचिव शर्माले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगको ‘र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट’ का आधारमा विपद्बाट करिब ७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सरकार अहिले खोज तथा उद्धारको चरणबाट पुनर्स्थापना र पुनर्निर्माणतर्फ अघि बढेको शर्माले बताए । प्रभावित परिवारलाई घरभाडाबापत प्रतिपरिवार १५ हजारदेखि १९ हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय कार्यान्वयनमा रहेको छ ।

राहतका लागि स्थानीय तह तथा जिल्ला विपद् व्यवस्थापन कोषमा करिब १७ करोड रुपैयाँ पठाइसकिएको छ । लाभग्राही पहिचानपछि भुक्तानी गरिने भएकाले केही प्राविधिक ढिलाइ भएको गृह मन्त्रालयले जनाएको छ ।

क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत मूल्यांकन भइरहेको र पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ । होल्डिङ सेन्टरमा रहेका नागरिकको दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गा पहिचान र आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया पनि अघि बढाइएको गृहसचिव शर्माले जानकारी दिए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.