काठमाण्डौ । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको दिगो आर्थिक सशक्तीकरण, उद्यम विकास तथा दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
साझेदारीअन्तर्गत महिला नेतृत्वका व्यवसाय तथा उद्यमका लागि जिम्मेवार वित्तमा पहुँच विस्तार, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजार अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता बढाउने विषयमा सहकार्य गरिने बैंकले जनाएको छ।
महिला उद्यमीले सामना गरिरहेका वित्तीय चुनौती सम्बोधन गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रलगायत नवीन वित्तीय उपायको सम्भावनासमेत खोजिनेछ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यो साझेदारीले समावेशी तथा दिगो वित्त प्रवर्द्धन गर्दै महिला उद्यमीको वित्त, बजार तथा ज्ञानमा पहुँच विस्तार गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको बताए।
उनका अनुसार महिला उद्यमी महासंघ नेपालको सञ्जाल र कुमारी बैंकको दिगो बैंकिङ क्षमतालाई एकीकृत गर्दै महिला नेतृत्वका व्यवसायलाई वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि उन्मुख बनाउन सहयोग गर्ने लक्ष्य राखिएको छ।
सहकार्यअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्र विकास गरिनेछ। उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यावसायिक अभ्यासलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ।
कुमारी बैंकका अनुसार महिला उद्यमी महासंघसँगको सहकार्यले वित्तीय रूपमा सक्षम हरित उद्यमको विकास, मूल्य शृङ्खला सुदृढीकरण, रोजगारीका अवसर विस्तार तथा जलवायुमैत्री र दिगो आर्थिक भविष्य निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हाल कुमारी बैंकले देशभर २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २०० भन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ र अन्तर्राष्ट्रिय कार्ड सुविधालगायत आधुनिक बैंकिङ सेवामार्फत वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।