काठमाण्डौ । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ।
पर्सा जिल्ला अदालतकी न्यायाधीश देवी कुमारी चौधरीको इजलासले मंगलबार शर्मासँग २ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिएर तारेखमा राख्न आदेश दिएको हो।
अदालतको आदेशमा तत्काल प्राप्त प्रमाणका आधारमा अहिले नै शर्मा आरोपित कसुरमा कसुरदार होइनन् भन्न सकिने अवस्था नरहेको उल्लेख गरिएको छ। त्यसैले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम उनलाई धरौटीमा छाड्ने आदेश भएको हो।
अदालतले शर्माबाट २ लाख रुपैयाँ नगद वा सो बराबरको बैंक ग्यारेन्टी लिएर मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्न भनेको छ। धरौटी दिन नसकेको अवस्थामा कानूनबमोजिम थुनामा राख्नेसमेत आदेशमा उल्लेख छ।
शर्माविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको आरोपमा मुद्दा दायर भएको थियो। अदालतमा पेश भएको अभियोग तथा मिसिलअनुसार तत्कालीन बैंकिङ कारोबारसँग जोडिएको कर्जा प्रकरणलाई लिएर उनीसहित अन्य प्रतिवादीमाथि अभियोग लगाइएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।