काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूले प्रहरी नेतृत्वमाथि प्रश्न उठाएपछि बदनाम गर्ने र फसाउने प्रयास भइरहेको आरोप लगाएका छन्।
संघीय संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत म्यादी प्रहरीको पोसाक खरिदमा भएको कथित अनियमितताबारे छानबिन गर्न गठित उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरी मुख्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट आफूमाथि दबाब सिर्जना भइरहेको दाबी गरे।
सुनारका अनुसार उपसमितिले म्यादी प्रहरीको पोसाक खरिदसम्बन्धी छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। पहिलो बैठकबाट कार्यविधि तय गरिएको तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह प्रशासन र सुरक्षा निकायबाट प्राप्त कागजातको प्रारम्भिक अध्ययन गरिएको उनले बताए।
अब खरिद प्रक्रियासँग सम्बन्धित व्यक्तिहरूलाई बोलाएर सोधपुछ गर्ने र थप प्रमाण संकलन गर्ने तयारी रहेको उनको भनाइ छ।
सञ्चारकर्मीले साउदी अरेबियाका लागि राजदूत नियुक्तिसँग जोडेर उनीमाथि लागेको १० करोड रुपैयाँ लेनदेनसम्बन्धी आरोपबारे प्रश्न गर्दा सुनारले उक्त आरोप अस्वीकार गरे।
आफ्नो नाममा नागरिकता र राहदानीबाहेक जग्गासमेत नरहेको दाबी गर्दै उनले आफूमाथि करोडौं रुपैयाँको लेनदेनको आरोप लगाइनु आधारहीन भएको बताए।
म्यादी प्रहरीको पोसाक खरिद प्रक्रियामा भएको भनिएको अनियमिततामाथि आफूले छानबिन सुरु गरेपछि प्रहरी नेतृत्वले प्रतिशोध साँध्न खोजेको उनको आरोप छ। उनले प्रहरी मुख्यालयबाट आफूविरुद्ध साइबर अभियान चलाइएको र सीआईबीले समेत निजी नम्बर प्रयोग गरी आफ्नो बारेमा सूचना संकलन गरिरहेको दाबी गरे।
“प्रहरीले गरेको बदमासीमा ममाथि हिलो छ्यापेर कोही उम्कन सक्दैन,” सुनारले भने, “सीआईबीसँग प्रमाण छ भने मलाई हतकडी लगाएर लैजाओस्।”
उनले आफ्नो घरमा समेत छापा मार्न चुनौती दिँदै अनुसन्धान निष्पक्ष हुनुपर्ने बताए।
विगतमा प्रहरी नेतृत्वमाथि छानबिन हुँदा सम्बन्धित पदाधिकारी निलम्बन हुनुपर्ने धारणा राख्दै आएका सुनारलाई सञ्चारकर्मीले आफूमाथि पनि उजुरी परे पदबाट अलग हुन तयार हो भनेर प्रश्न गरेका थिए।
जवाफमा उनले संसद्मा आफूमाथि औपचारिक उजुरी परे सांसदको लोगो फुकालेर छानबिनको सामना गर्न तयार रहेको बताए।
सुनारले आफू दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेकोसमेत दाबी गरे। तर आफूमाथि आरोप लगाउने प्रहरी नेतृत्वको पनि समान रूपमा छानबिन हुनुपर्ने उनको माग छ।
राज्य संयन्त्र प्रयोग गरेर आफूलाई तर्साउने प्रयास भइरहेको दाबी गर्दै उनले म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताको तथ्य बाहिर ल्याएरै छाड्ने बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।