काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ। यसअघि आज बिहान १० बजेदेखि मतदान गर्ने तय भए पनि निर्वाचन प्रक्रिया पूरा गर्न समय लाग्ने भएपछि मतदान दिउँसो १ बजेदेखि हुने भएको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको जानकारी दिए। महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली बुधबार राति प्रकाशन गरिएको थियो।
मतदानका लागि बागमती प्रदेशका मतदातालाई राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समितिका मतदाताका लागि भने खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ।
सदस्यसचिव कटुवालका अनुसार कोशी र मधेस प्रदेशका मतदाताका लागि खुलामञ्चस्थित तराई–मधेस हल, गण्डकीका लागि हिमाली हल तथा कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका लागि पहाड हलमा मतदानको व्यवस्था गरिएको छ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान नपाइने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।