काठमाण्डौ । ‘सेन्टर फ्रुट’ चुइङ्गमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।
सर्वोच्च अदालतले ‘पर्फेक्ट सेन्टर फिल्ज’ को ट्रेडमार्क इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग झुक्किने गरी मिल्दोजुल्दो रहेको ठहर गरेको थियो।
न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले गरेको फैसलापछि सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिका नाममा दर्ता रहेको उक्त ट्रेडमार्क उद्योग विभागले बदर गरेको हो।
पर्फेक्ट फुड्सले चुइङ्गमका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको थियो।
मुद्दाको सुनुवाइका क्रममा सर्वोच्चले दुई ट्रेडमार्कका शब्द मात्र होइन, तिनको समग्र प्रस्तुति, बनोट र सामान्य उपभोक्तामा पर्ने प्रभावलाई समेत आधार बनाएको थियो।
अदालतले ‘पर्फेक्ट सेन्टर फिल्ज’ र ‘सेन्टर फ्रुट’बीच पर्याप्त समानता रहेको तथा त्यसले सामान्य उपभोक्तालाई भ्रममा पार्न सक्ने निष्कर्ष निकालेको थियो।
सर्वोच्चको फैसलासँगै उद्योग विभागले सम्बन्धित ट्रेडमार्कको दर्ता बदर गरेपछि अब उक्त ट्रेडमार्क प्रयोग गरी उत्पादन तथा बिक्री–वितरण गर्न नपाइने भएको छ। बजारमा त्यस्ता सामान भेटिए प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने विभागले जनाएको छ।
यो फैसला व्यापारिक चिन्हको मौलिकता, उपभोक्ता भ्रम र बौद्धिक सम्पत्तिको संरक्षणसँग जोडिएको महत्वपूर्ण नजिरका रूपमा समेत हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।