काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ ।
निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ५ रुपैयाँले घटाएको हो ।
निगमले बुधबार जारी गरेको एक विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको र समायोजित मूल्यसूची बुधबार(आजै) राति १२ बजेदेखि लागू हुनेछ ।
मूल्य समायोजनपछि अब पेट्रोलको अधिकतम मूल्य प्रतिलिटर १७८ बाट घटेर १७१ रुपैयाँ कायम भएको छ । काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रका ग्राहकले पेट्रोललाई प्रतिलिटर १७१ तिर्नुपर्नेछ ।
यस्तै, यही क्षेत्रका ग्राहकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ तिर्दै आएकोमा घटेर १५४ रुपैयाँ कायम भएको छ ।