काठमाण्डौ । आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पाक्षिक उपहार कुपनमा सहभागी हुन चाहने उपभोक्तालाई असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रविष्टि गर्न आग्रह गरेको छ।
विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। त्यसका लागि विभागको आधिकारिक पोर्टल prize.ird.gov.np मा गई खरिद बिलको विवरण दर्ता गर्नुपर्नेछ।
यस अवधिमा प्रविष्ट गरिएका बिलबाट प्राप्त उपहार कुपनको नतिजा कात्तिक १ गते सार्वजनिक गरिने विभागले जनाएको छ। सोही दिन विजेताको घोषणा हुनेछ।
विभागले पुरस्कार दाबी गर्दा सक्कल खरिद बिल अनिवार्य आवश्यक पर्ने भएकाले वस्तु तथा सेवा खरिद गर्दा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ।
त्यस्तै, व्यवसायीलाई पनि वस्तु तथा सेवा बिक्री गर्दा प्रचलित कानुनअनुसार अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले सचेत गराएको छ।
उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने र कारोबारलाई औपचारिक प्रणालीमा ल्याउने उद्देश्यले विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।