काठमाण्डौ । दसैँ नजिकिँदै जाँदा बजारमा नगदको माग उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ।
भदौ मसान्तसम्म बजारमा करिब ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा थियो। बुधबारसम्म आइपुग्दा यो रकम बढेर करिब ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ।
चाडपर्वका बेला किनमेल, दक्षिणा, यात्रा तथा दैनिक उपभोगका लागि नगदको प्रयोग बढ्ने भएकाले बजारमा नोटको माग उच्च हुने गर्छ। डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेको भए पनि दसैँजस्ता ठूला चाडमा नगदको आवश्यकता अझै उच्च देखिएको छ।
१३ अर्बका नयाँ तथा सफा नोट साटिए
यस अवधिमा सर्वसाधारणले नेपाल राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकमार्फत करिब १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सफा नोट साटेका छन्।
त्यसमध्ये करिब ३ अर्ब रुपैयाँ बराबरका नोट राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय तथा प्रादेशिक कार्यालयहरूबाट साटिएको छ। वाणिज्य बैंकहरूले भने आफ्ना ग्राहकलाई नोट सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैंकबाट करिब १० अर्ब रुपैयाँ बराबरका नोट लगेका छन्।
राष्ट्र बैंकले असोज १ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सफा नोट साट्ने व्यवस्था सुरु गरेको थियो।
दसैँका मुख्य दिन नजिकिँदै जाँदा बजारमा नगदको माग अझै बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरूको अनुमान छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।