काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नगरपालिकामा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।
पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवारी दिन चाहने आकांक्षीलाई ‘नगरपालिका क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन आह्वान गरेको हो।
रास्वपाले सार्वजनिक सूचनामार्फत स्थानीय तहमा नेतृत्व लिन इच्छुक व्यक्तिले पार्टीको मोबाइल एप प्रयोग गरी आवेदन दिन सक्ने जनाएको छ।
पार्टीले जारी गरेको सूचनामा भनिएको छ, “नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ। यदि तपाईं यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला।”
रास्वपाबाट उम्मेदवार बन्न चाहने व्यक्तिले प्रारम्भिक रूपमा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनपछि मात्रै पार्टीको उम्मेदवार छनोटसम्बन्धी प्रक्रिया अघि बढ्ने व्यवस्था गरिएको छ।
यसअघि रास्वपाले भदौ १ गतेदेखि गाउँपालिकाका लागि ‘गाउँपालिका क्यान्डिडेट क्लब’मा आवेदन खुला गरेको थियो। नगरपालिकातर्फ पनि आवेदन खुला भएसँगै पार्टीले आगामी स्थानीय निर्वाचनका लागि सम्भावित उम्मेदवारको सूची तयार गर्ने प्रक्रिया विस्तार गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।