काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै पार्टीको अनुशासन आयोगमा लिखित जवाफ बुझाएका छन्। आफू र एक महिलाबीच भएको भनिएको संवाद अस्वीकार गर्दै उनले इन्कारी पत्र पेस गरेका हुन्।
अनुशासन आयोगका उपप्रमुख तथा छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको लिखित जवाफ प्राप्त भएको जानकारी दिए। भट्टराईका अनुसार सुनारले यसअघि सामाजिक सञ्जालमा व्यक्त गरेका दाबीलाई नै पत्रमा मुख्य रूपमा दोहोर्याएका छन्।
अडियो सार्वजनिक भएपछि सुनारले एआईलगायत प्रविधिको प्रयोग गरेर सामग्री बनाइएको दाबी गरेका थिए। प्रहरीमा भएको भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको उनको जिकिर छ। यी दाबीको सत्यताबारे छानबिन समितिले निष्कर्ष दिइसकेको छैन।
सम्पादनअघिको अडियो प्राप्त अन्तर्वार्ताको रेकर्ड मागियो
समितिले अडियो सार्वजनिक गर्ने जनआस्था पत्रिकाबाट सम्पादनअघिको अडियो प्राप्त गरेको छ। साथै, सम्बन्धित महिलाको भनिएको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्युज २४ लाई पत्राचार गरेको छ।
सुनारको लिखित इन्कार र महिलाको अन्तर्वार्तामा प्रस्तुत विवरणका कारण छानबिनमा केही जटिलता थपिएको समितिले जनाएको छ। समितिले स्वतन्त्र प्रमाण संकलन र प्राप्त सामग्रीको सत्यापनलाई अघि बढाएको छ।
भट्टराईका अनुसार जनआस्थाबाट प्राप्त अडियोको पहिले आन्तरिक रूपमा सत्यापन गरिनेछ। त्यस क्रममा जटिलता देखिए प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायलाई पत्राचार गरिने उनले बताए।
प्राविधिक जाँचपछि सुनारसँग थप सोधपुछ गर्ने समितिको तयारी छ। छानबिन पूरा हुन लाग्ने समय प्राविधिक परीक्षणमा निर्भर रहने भट्टराईले स्पष्ट पारे। अन्य काम अघि बढिसकेको र परीक्षण सकिएपछि छिट्टै निष्कर्षमा पुग्ने प्रयास भइरहेको उनको भनाइ छ।
औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
अडियो सार्वजनिक भएलगत्तै रास्वपाले सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो।
छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिएको छ। अडियोको प्रामाणिकता र त्यससँग सम्बन्धित आरोपबारे समितिको अन्तिम निष्कर्ष आउन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।