काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ।
योसँगै बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’को सम्मान प्राप्त गर्न सफल भएको हो। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि यही विधामा उक्त अवार्ड जितेको थियो।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका हुन्।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच, रणनीतिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता(एआई)को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलगायत सूचकका आधारमा ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट ठहर गरेको जनाएको छ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकका प्रमुख बैंकहरू पनि सम्मानित भएका थिए। बैंक अफ चाइना, स्टेट बैंक अफ इन्डिया, आइसीबीसी, यूओबी मलेशिया, सिटी बैंक बङ्लादेश र एमयूएफजी बैंक जापानलगायत अन्तर्राष्ट्रिय बैंक विभिन्न विधामा पुरस्कृत भएका थिए।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंकसमेत हो।
बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।
बैंकले सम्मान प्राप्त गर्न सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकलाई आभार व्यक्त गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।