काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरणको आन्तरिक छानबिन अन्तिम चरणमा पुगेको छ।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले सुनारसँग लिखित प्रतिक्रिया लिइसकेको छ भने अडियोसँग सम्बन्धित प्रमाण संकलनको काम पनि लगभग पूरा भएको जनाएको छ। सुनारले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।
आयोगका अनुसार अब संकलित प्रमाणको मूल्यांकन गरी कारबाही सिफारिस गर्ने वा नगर्ने विषयमा निर्णय हुनेछ।
अडियो सार्वजनिक भएपछि रास्वपाले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो र अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिएको थियो।
तर प्रकरणमा जोडिएकी महिलाबाट औपचारिक उजुरी नआएको र अडियोको प्रामाणिकता नै निर्णायक विषय बनेकाले छानबिन जटिल बनेको आयोगसम्बद्ध स्रोतको भनाइ छ। सुनारले अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन्।
यता सुनारमाथि कारबाही गर्ने विषयमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पनि छलफल भएको छ। बुधबार बुढानीलकण्ठमा भएको लामो छलफलमा खगेन्द्र सुनारको अडियो प्रकरण मुख्य एजेन्डामध्ये एक रहेको सार्वजनिक विवरणमा उल्लेख छ।
रातोपाटीले स्रोत उद्धृत गर्दै लामिछाने अनुशासनहीन गतिविधिमा कडा कारबाही हुनुपर्ने पक्षमा रहेको र शाह पर्याप्त तथ्य तथा प्रमाणबिना निर्णय गर्न नहुने पक्षमा रहेको जनाएको छ। यो भने आधिकारिक निर्णय नभई स्रोतमा आधारित विवरण हो।
पार्टीको सचिवालय बैठक तिहारपछि बस्ने तयारी छ। त्यसबेलासम्म अनुशासन आयोगले आफ्नो सिफारिस बुझाउने अपेक्षा गरिएको छ। सोही आधारमा पार्टीले थप कारबाहीबारे निर्णय गर्न सक्नेछ।
सुनार प्रत्यक्ष निर्वाचित सांसद भएकाले पार्टीगत कारबाही र सांसद पदसँग सम्बन्धित कानुनी प्रक्रिया पनि सहज छैन। रास्वपाको विधानमा ‘राइट टु रिकल’ को अवधारणा भए पनि प्रत्यक्ष निर्वाचित सांसदको हकमा त्यसको कार्यान्वयनबारे स्पष्ट व्यवस्था नभएको बताइएको छ।
यसै विषयमा आवश्यक दस्ताबेज तयार गर्न महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।
अहिले सबैको ध्यान अनुशासन आयोगको अन्तिम निष्कर्षतर्फ केन्द्रित छ। अडियोको प्रामाणिकता, उपलब्ध प्रमाण र पार्टीको अनुशासनसम्बन्धी मापदण्डका आधारमा सुनारमाथि कारबाही हुने वा नहुने तय हुने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।