काठमाण्डौ । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय व्यावसायिक सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यसहित ती सवारी भाटभटेनीलाई हस्तान्तरण गरेको हो।
‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारी समावेश गरेसँगै सञ्चालन खर्च घटाउने र वातावरणीय प्रभाव न्यून गर्ने लक्ष्य लिएको छ।
कम्पनीका अनुसार फोटोन टीएम१ विद्युतीय सवारी वातावरणमैत्री प्रविधि सञ्चालन खर्चमा बचत तथा भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छ।
एमएडब्लू वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
‘भाटभटेनीजस्तो लाखौं नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं,’ उनले भने, ‘१४ वटा फोटोन टीएम१ विद्युतीय सवारीसाधन हस्तान्तरण व्यावसायिक उपलब्धि मात्रै नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो।’
उनले नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए।
भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताए।
उनका अनुसार फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्नेछ। यस्तो पहलले नेपालका अन्य व्यवसायलाई समेत विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहन गर्ने विश्वास उनले व्यक्त गरे।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा समेत यसको सम्भावना विस्तार हुँदै गएको छ। सञ्चालन खर्च घटाउन र वातावरणीय प्रभाव न्यून गर्न विद्युतीय व्यावसायिक सवारी प्रभावकारी विकल्पका रूपमा अगाडि आइरहेको कम्पनीको भनाइ छ।
यस हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपालको विद्युतीय व्यावसायिक सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।