काठमाण्डौ । करिब ११ वर्षदेखि अलपत्र परेको इलामको सुखानी पक्की पुलको ठेक्का अन्ततः तोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन इलामले सोमबार उक्त रुग्ण ठेक्का अन्त्य गरेको हो। मेची करिडोर तथा मदन भण्डारी राजमार्गमा पर्ने यो पुल निर्माणको सम्झौता करिब १४ वर्ष ४ महिनाअघि भएको थियो।
निर्माणको जिम्मा पाएको स्काई–अजम्बर–शिवराम जेभी काठमाडौंले २०७२ सालदेखि नै काम पूर्ण रूपमा छाडेर साइट अलपत्र पारेको मन्त्रालयले जनाएको छ।
कुल १ करोड ६२ लाख रुपैयाँ लागतको पुल निर्माणमा निर्माण व्यवसायीले करारीय दायित्व पूरा नगरेपछि ठेक्का तोडिएको हो।
मन्त्रालयका अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने तथा सम्झौता र सार्वजनिक खरिद कानुनअनुसार थप कारबाही अघि बढाउने प्रक्रिया पनि सुरु गरिएको छ।
लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दासमेत आयोजना अनिर्णयमा राख्ने प्रवृत्ति अन्त्य गर्ने संकेतस्वरूप यो कदम चालिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले अब कुनै पनि रुग्ण ठेक्कालाई अनिश्चितकालसम्म अलपत्र अवस्थामा नराखिने र निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरे सरकारी निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।