काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा तथा बिक्री गर्न मन्त्रिपरिषद्बाट निर्णय गराइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र रिजाललाई प्रतिवादी बनाएको हो ।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले उक्त कम्पनीको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा तथा बिक्रीका लागि सहमति दिएको विषयलाई लिएर अख्तियारले भ्रष्टाचार कसुरमा मुद्दा अघि बढाएको हो ।
विशेष अदालत स्रोतका अनुसार अख्तियारबाट पेश भएको आरोपपत्र अध्ययनपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल यसअघि पतञ्जलि योगपीठको हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा प्रकरणमा पनि अख्तियारको भ्रष्टाचार मुद्दाका प्रतिवादी छन् । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।