काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।
अघिल्ला दुई वर्ष चाँदीका सिक्का मात्रै बिक्री गर्दै आएको राष्ट्र बैंकले यसपटक २.५ ग्राम तौलका सुनका असर्फीसमेत बिक्री गर्न लागेको हो । साथै १० ग्रामका गणेश–लक्ष्मी अंकित चाँदीका सिक्का पनि बिक्री गरिनेछ ।
राष्ट्र बैंकका अनुसार सुन अभावका कारण पछिल्ला दुई वर्ष असर्फी टकमरी हुन सकेको थिएन । यस वर्ष भने वाणिज्य बैंकबाट सुन खरिद गरी असर्फी तयार पारिएको छ ।
राष्ट्र बैंकले दसैंअघि नै वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकमरीको काम अघि बढाएको हो । नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै रहेको छ ।
यसअघि राष्ट्र बैंकले सरकारको मातहतमा आएको सुन खरिद गरी असर्फी बनाउँदै आएको थियो । तर राष्ट्र बैंकसँग रहेको सुनको मौज्दात सकिएपछि पछिल्ला दुई वर्ष असर्फी बिक्री रोकिएको थियो ।
यसपटक भने बजारबाटै सुन खरिद गरेर भए पनि धनतेरसमा असर्फी उपलब्ध गराउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
हाल भन्सार तथा अन्य निकायबाट बरामद भएका सुन तथा पहेँलो धातु राष्ट्र बैंकको संरक्षणमा रहे पनि ती विषयमा अदालतमा मुद्दा चलिरहेकाले राष्ट्र बैंकले उक्त सुन खरिद गर्न सकेको छैन ।
सुनको पछिल्लो बजार मूल्यका आधारमा २.५ ग्रामको असर्फीको मूल्य करिब ६० हजारदेखि ७० हजार रुपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । अन्तिम बिक्री मूल्य भने राष्ट्र बैंकले तोक्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।