काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न ७ समस्याग्रस्त सहकारीका १२२ जना बचतकर्तालाई रकम फिर्ता गरेको छ।
समितिका अनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ताको पूर्ण बचत रकम फिर्ता गरिएको हो।
त्यस्तै कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्तालाई आंशिक बचत रकम फिर्ता गरिएको छ।
समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको समितिले जनाएको छ।
पहिलो चरणमा कम रकम बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको छ। आगामी चरणमा पनि बचत रकमको आकारका आधारमा वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गर्ने समितिको तयारी छ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनको कामसँगै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर चलिरहेको छ।
प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई उपलब्ध स्रोतका आधारमा क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।