काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ। बिक्रीका लागि तयार गरिएको स्टक सकिएपछि केन्द्रीय बैंकले आज सुनका असर्फी नबेच्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले तिहार तथा धनतेरसलाई लक्षित गरी बिहीबारदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन कर्मचारीसहित करिब ४ हजार ५ सयवटा सुनका असर्फी बिक्री भएको थियो।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार प्रक्रियागत जटिलताका कारण बिक्रीयोग्य असर्फीको उत्पादन सीमित भएकाले पहिलो दिनमै स्टक सकिएको हो।
यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी बिक्री सुरु गरेको थियो। गत वर्ष भने सुन उपलब्ध नभएका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो।
बिहीबार प्रतिव्यक्ति एकवटा सुनको असर्फी र दुईवटासम्म चाँदीका मेडालियन बिक्री गरिएको थियो। सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलको रहेको छ।
बिहीबार २.५ ग्रामको सुनको असर्फी ६५ हजार ४ सय रुपैयाँमा बिक्री गरिएको थियो भने चाँदीको मेडालियनको मूल्य ३ हजार ८ सय रुपैयाँ तोकिएको थियो।
शुक्रबार भने राष्ट्र बैंकले चाँदीका मेडालियन मात्रै बिक्री गर्ने भएको छ। आजका लागि प्रतिमेडालियन मूल्य ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले हरेक वर्ष धनतेरसको अवसर पारेर सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।