शुक्रबार, कार्तिक २०,२०८३ 06:16:53
  • शुक्रबार, कार्तिक २०,२०८३ 06:16:53
Global IME Bank Limited

१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

Bizshala
१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ ग्रुप प्रा.लि.’विरुद्ध दायर १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको राजस्व चुहावटसम्बन्धी मुद्दाको सुनुवाइ फेरि सरेको छ।

ललितपुर जिल्ला अदालतमा विचाराधीन उक्त मुद्दाको कात्तिक १९ गते सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सुनुवाइ हुन नसकेको अदालतसम्बद्ध स्रोतले जनाएको छ। अब उक्त मुद्दाको अर्को पेशी मंसिर ३ गतेका लागि तोकिएको छ।

नेपाल क्यान मुभ ग्रुपका सेयरधनी तथा सञ्चालक सुदीप आचार्यसहित ८ जनालाई प्रतिवादी बनाइएको मुद्दा जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासमा सुनुवाइका लागि तोकिएको थियो।

यसअघि कात्तिक १२ गते जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासमा सुनुवाइ हुने भनिएको मुद्दा पनि सो दिन सुनुवाइ हुन नसकेपछि कात्तिक १९ गतेका लागि सारिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

१ अर्ब ३६ करोडभन्दा बढी मागदाबी

राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ ग्रुपविरुद्ध २०८२ भदौ ५ गते राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको थियो।

विभागले कम्पनी तथा प्रतिवादीहरूबाट ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ बिगो कायम गरी शतप्रतिशत जरिवानासहित कुल १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ मागदाबी गरेको छ।

साथै अभियोगपत्रमा ३ वर्षदेखि ५ वर्षसम्म कैद सजायको मागसमेत गरिएको छ।

विभागका निर्देशक तथा अनुसन्धान अधिकृत अर्जुन राईसमेतको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अघि बढाइएको हो।

भ्याट र आयकर छलीको आरोप

विभागको अनुसन्धानअनुसार कम्पनीले करयोग्य कारोबार लुकाई मूल्य अभिवृद्धि कर र आयकर छली गरेको आरोप छ।

अनुसन्धानमा ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ बराबरको करयोग्य कारोबार लुकाइएको दाबी गरिएको छ।

उक्त रकममा लाग्ने भ्याट, जरिवाना, थप दस्तुर तथा ब्याज जोड्दा भ्याटतर्फ २६ करोड ७ लाख ५० हजार ५१५ रुपैयाँ राजस्व चुहावट भएको विभागको दाबी छ।

त्यस्तै आयकरतर्फ कर, शतप्रतिशत जरिवाना तथा ब्याजसमेत गरी ४२ करोड ३६ लाख ५५ हजार २४५ रुपैयाँ कायम गरिएको छ।

दुवै शीर्षक जोड्दा विभागले ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ बिगो निर्धारण गरेको हो।

Garima Development Bank
Bizshala
IME remit

अस्ट्रेलियामा सर्भर राखेर कारोबार लुकाएको आरोप

विभागले कम्पनीले आफ्नो एनसीएम पोर्टलको सर्भर अस्ट्रेलियामा राखेर नेपालमा भएको सेवा बिक्रीको वास्तविक कारोबार विवरण कर प्रशासनबाट लुकाएको आरोप लगाएको छ।

अनुसन्धानअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को फागुन मसान्तसम्म कम्पनीको डिजिटल प्रणालीमा १ अर्ब ६९ करोड ६९ लाख ७४ हजार ४४९ रुपैयाँ बराबरको सेवा बिक्री देखिएको थियो।

तर आन्तरिक राजस्व कार्यालयमा पेस गरिएको विवरणमा भने ९१ करोड ४१ लाख २७ हजार ६८२ रुपैयाँको कारोबार मात्रै देखाइएको विभागको दाबी छ।

यसरी डिजिटल कारोबार र कर विवरणबीच ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ अन्तर देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

विभागले यही अन्तरलाई भ्याट तथा आयकर छलीको मुख्य आधार बनाएको छ।

७१.३३ प्रतिशत सेयर स्वामित्व अस्ट्रेलियामा बस्ने दुई व्यक्तिको

प्राप्त कम्पनी विवरणअनुसार नेपाल क्यान मुभका प्रमुख सेयरधनी सुदीप आचार्यको ५५ प्रतिशत र जीवन ज्ञवालीको १६.३३ प्रतिशत सेयर स्वामित्व छ।

दुवैको संयुक्त स्वामित्व ७१.३३ प्रतिशत हुन्छ।

अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार दुवै जना अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। विभागले मुद्दा दायर गर्ने क्रममा उनीहरूसँग पटक–पटक सम्पर्कको प्रयास गरे पनि सम्पर्क स्थापित हुन नसकेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

यद्यपि कम्पनी तथा प्रतिवादीहरूमाथि लगाइएका आरोप, बिगो र सजायसम्बन्धी मागदाबीको अन्तिम कानुनी निरूपण अदालतबाट हुन बाँकी छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.