काठमाण्डौ । मस्को जानुअघि एक युरोपेली कूटनीतिज्ञले आफ्नै निवासका हरेक कोठामा क्यामेरा हुन सक्ने चेतावनी पाएका थिए । अर्का पूर्वराजदूतले रुस छाडेको महिनौँसम्म पनि कसैले पछ्याइरहेको छ कि भनेर बारम्बार पछाडि फर्केर हेर्थे । युक्रेनमाथि रुसले सन् २०२२ मा पूर्णस्तरको आक्रमण थालेपछि मस्कोमा काम गरेका पाँच कूटनीतिज्ञसँग बीबीसीले गरेको कुराकानीमा यस्ता अनुभव बाहिर आएका हुन् ।
सन् २०२३ देखि २०२५ सम्म मस्कोमा अमेरिकी राजदूत रहेकी लिन ट्रेसीका लागि रुसको जिम्मेवारी तीन दशक लामो कूटनीतिक जीवनकै सम्भवतः सबैभन्दा कठिन काम थियो । सन् २००८ मा पाकिस्तानको पेशावरमा सशस्त्र आक्रमणबाट जोगिएकी ट्रेसीले ज्यानको जोखिम हुँदाहुँदै पनि त्यहाँको काम केही हिसाबले मस्कोभन्दा सजिलो लागेको बताइन् । उनका अनुसार पेशावरमा केही कुरा आफ्नो नियन्त्रणमा रहेको अनुभूति हुन्थ्यो । मस्कोमा भने निरन्तर निगरानी र अनिश्चितताले काम झन् कठिन बनायो ।
दूतावाससँग भेट्ने रुसी नागरिक पनि दबाबमा
एक पूर्वराजदूतका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले दूतावासका दुई स्थानीय कर्मचारीलाई त्यहाँ हुने गतिविधिको सूचना दिन दबाब दिएको थियो । दुवैले त्यसबारे दूतावासलाई जानकारी दिए । सम्भावित कानुनी कारबाहीबाट जोगाउन उनीहरूलाई कामबाट हटाइएको ती पूर्वराजदूतको भनाइ छ ।
पश्चिमी कूटनीतिज्ञसँग सम्पर्कमा रहने रुसी नागरिकले पनि दबाब खेपेको बीबीसीको रिपोर्टमा उल्लेख छ । गत जुनमा बेलायती राजाको जन्मदिनका अवसरमा मस्कोस्थित बेलायती राजदूतको निवासमा आयोजित कार्यक्रममा पुगेका केही पाहुनाले क्रेमलिन समर्थक कार्यकर्ता र सरकारी सञ्चारमाध्यमका पत्रकारले आफूहरूलाई दुःख दिएको तथा प्रहरीले सोधपुछ गरेको बताएका छन् । तीमध्ये एकले त्यसपछि पश्चिमी दूतावासका कैयौँ निम्तो अस्वीकार गरेको बताए ।
मस्कोले आफूले ‘अमैत्रीपूर्ण’ मानेका देशका कूटनीतिज्ञमाथि जासुसीको आरोप लगाउँदै आएको छ । पश्चिमी देशमा तैनाथ रुसी कूटनीतिज्ञले पनि आफूमाथि भेदभाव भएको गुनासो गरेका छन् । बीबीसीसँग कुरा गरेका पश्चिमी कूटनीतिज्ञ भने रुसमा गुप्तचर निगरानीको दायरा अझ व्यापक रहेको बताउँछन् ।
कर्मचारीको तलब जुटाउन कार बेचेको रकम
युक्रेनमाथि रुसको आक्रमणपछि अमेरिका र युरोपेली देशले सयौँ रुसी कूटनीतिज्ञलाई निष्कासन गरे । जवाफमा मस्कोले पनि सयौँ पश्चिमी कूटनीतिज्ञलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गर्यो । त्यसपछि कर्मचारी अभाव खेपिरहेका कतिपय दूतावासलाई वित्तीय प्रतिबन्धका कारण दैनिक खर्च जुटाउनसमेत कठिन भयो ।
एक पूर्वराजदूतका अनुसार उनको दूतावासमा कर्मचारीलाई तलब दिन नगद अभाव भएको थियो । त्यही बेला रुसबाट निष्कासित अर्का कूटनीतिज्ञले आफ्नो कार बेचेर पाएको रुबल सुटकेसमा भरेर दूतावास ल्याएका थिए ।
सरकारी सम्पर्क खुम्चिँदा राजदूतकै भर
युक्रेनमाथि आक्रमण सुरु भएपछि युरोपमा राजदूत फिर्ता बोलाउनेबारे बहस चलेको थियो । रुसका लागि फ्रान्सका तत्कालीन राजदूत पियरे लेवीले भने सम्बन्ध बिग्रँदै जाँदा मस्कोमा कूटनीतिज्ञको उपस्थिति झन् आवश्यक हुने भन्दै पेरिसलाई राजदूत फिर्ता नबोलाउन आग्रह गरेका थिए ।
एक पूर्व युरोपेली राजदूतका अनुसार मस्को र कतिपय पश्चिमी सरकारबीच मन्त्रीस्तरीय भेटघाट र फोन संवादसमेत लगभग ठप्प छन् । यस्तो अवस्थामा आफ्नो सरकारको धारणा मस्कोसम्म पुर्याउने जिम्मा राजदूतकै काँधमा छ । ट्रेसीका लागि भने सर्वसाधारणबीचको सम्पर्क जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण थियो । कुनै दिन दुई सरकारबीच सम्बन्ध सुधार्ने अवसर आए नागरिक तहमा बाँकी रहेका सम्बन्धले त्यसलाई अघि बढाउन मद्दत गर्ने उनको विश्वास छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।