काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ। कात्तिक शुक्ल सप्तमीका दिन बिहान बर्तालुले सूर्यदेवलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकिएको हो।
तराई मधेशसहित देशका विभिन्न स्थानमा बिहान सूर्योदयसँगै बर्तालुले सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। यसअघि आइतबार साँझ षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको थियो।
छठ पर्वको सुरुवात चौथीका दिन ‘नहाय–खाय’ विधिबाट भएको थियो। पञ्चमीका दिन ‘खरना’ गरेका बर्तालुले षष्ठीमा अस्ताउँदो र सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गरेका हुन्।
पर्व सकिएपछि बर्तालुले दीनदुःखीलाई अन्न तथा वस्त्र दान गरी प्रसाद ग्रहण गर्ने र आफन्तजनलाई बाँड्ने परम्परा छ। ठकुवा, भुसुवा, केरा, अन्य फलफूल र दही छठका प्रमुख प्रसाद हुन्।
छठ पर्वको व्रतले सुख, शान्ति प्राप्त हुने र रोगव्याधबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।