काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले भारतीय पर्यटकको आगमन बढाउन हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार र पर्यटन क्षेत्रमा सहकार्य आवश्यक रहेको बताएका छन्।
नयाँदिल्लीमा भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँगको शिष्टाचार भेटमा पौडेलले उड्डयन क्षेत्रको विकास र द्विपक्षीय सहकार्य विस्तारबारे छलफल गरेका छन्। भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले बुधबार साँझ संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले पर्यटनलाई दुई देशबीचको जनस्तरको सम्बन्ध र आर्थिक अवसर विस्तार गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए।
नेपाल र भारतबीचको सम्बन्ध साझा संस्कृति, सभ्यता र आस्थासँग जोडिएको उल्लेख गर्दै उनले भारतीय पर्यटकका लागि नेपाललाई सहज, सुरक्षित र आकर्षक गन्तव्य बनाउन सहकार्य बढाउनुपर्नेमा जोड दिए।
पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक स्थल, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि आकर्षण बन्न सक्ने बताए। पर्यटकको आवागमन सहज बनाउन यातायात सम्पर्कसँगै दुवै देशका निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्र सिंह शेखावतले दुई देशको साझा सांस्कृतिक सम्पदा र पर्यटन सम्बन्धको महत्त्वबारे चर्चा गरे। उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजले नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारतीय पर्यटकलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै नेपाल सुरक्षित, खुला र पर्यटक स्वागतका लागि तयार रहेको बताए। उनले नेपालका विविध पर्यटन गन्तव्य तथा अनुभवमा आधारित पर्यटनका सम्भावनासमेत प्रस्तुत गरे।
कार्यक्रममा नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले सहभागीलाई स्वागत गरेका थिए। भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर तथा भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक प्रतिनिधिले ‘नेपाल कलिङ’ अभियानप्रति समर्थन जनाएका थिए।
भारतीय टुर अपरेटर संघ (आईएटीओ), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।