काठमाडौं। जीवाश्म इन्धनको प्रयोग घटाउने विषय र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ निष्कर्षविहीन बनेको छ।
शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलन सहमतिको प्रयासमा आइतबारसम्म लम्बिएको थियो। तर, अन्तिम सम्झौतामा जलवायु परिवर्तनको प्रमुख कारण मानिने कोइला, तेल र ग्यासको प्रयोग अन्त्य गर्ने विषय स्पष्ट रूपमा उल्लेख नगरिएपछि युरोपेली सङ्घ (ईयू), प्रशान्त क्षेत्रका टापु राष्ट्रलगायत देशले असन्तुष्टि जनाएका छन्।
त्यस्तै, जलवायु परिवर्तनको असरबाट प्रभावित गरिब तथा विकासशील देशलाई धनी राष्ट्रले उपलब्ध गराउने आर्थिक सहयोगबारे ठोस प्रतिबद्धता नआएपछि विवाद थप चुलिएको हो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको परिणामप्रति गहिरो निराशा व्यक्त गर्दै जीवाश्म इन्धनसम्बन्धी स्वार्थ समूहले जलवायु परिवर्तन नियन्त्रणका प्रयास अवरुद्ध गरिरहेको आरोप लगाए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने जटिल भूराजनीतिक परिस्थितिका कारण सहमति जुट्न नसकेको बताए।
यसैबीच, सम्मेलनमा जलवायु अनुकूलनका लागि आर्थिक सहयोग तीन गुणा बढाउने गत वर्षको सहमतिलाई कार्यान्वयन गर्ने ठोस रकमसमेत उल्लेख हुन सकेन।
सम्मेलनका क्रममा विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने सन् २०१५ को पेरिस सम्झौताको लक्ष्य पूरा गर्न नसकिने अवस्थाबारे पनि छलफल भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।