काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको साधारण सेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ।
कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ४२ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो।
कम्पनीका अनुसार उक्त सेयरको लकइन अवधि २०८३ पुस १० गते (सन् २०२६ डिसेम्बर २५) समाप्त हुनेछ। लकइन अवधि सकिएसँगै सम्बन्धित सामूहिक लगानी कोषले प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही ती सेयर कारोबार गर्न सक्नेछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४२ लाख ५० हजार रुपैयाँबराबरको ४२ हजार ५०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।
उक्त सेयर २०८३ असार ११ गते बाँडफाँड गरिएको थियो। बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म सेयर बिक्री गर्न नपाइने व्यवस्थाअनुसार लकइन अवधि कायम गरिएको कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई लकइन अवधि समाप्त हुने सम्बन्धमा जानकारी गराएको हो।
कम्पनीले उक्त सूचना मंसिर १० गतेको सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित गरिने व्यहोरासमेत सम्बन्धित निकायलाई जानकारी गराएको छ।
लकइन अवधि समाप्त हुनुको अर्थ सबै सेयर एकैपटक बजारमा बिक्रीमा आउने भन्ने होइन। सम्बन्धित सामूहिक लगानी कोषले बिक्री गर्ने निर्णय गरेमा भने उक्त सेयर दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।