काठमाडौं। शिखर इन्स्योरेन्सले साधारण बीमा विधातर्फ सन् २०२५ को ‘साफा सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ। कम्पनीले लगातार दोस्रो वर्ष उक्त सम्मान प्राप्त गरेको हो।
वार्षिक प्रतिवेदनको उत्कृष्टता, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। यस उपलब्धिले व्यावसायिकता र जिम्मेवार व्यावसायिक अभ्यासका उच्चतम मापदण्ड कायम राख्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।
यस वर्ष उक्त सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स एक मात्र साधारण बीमा कम्पनी बनेको छ। लगातार दुई वर्ष सम्मानित हुनुले कम्पनीको संस्थागत पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ।
२२ वर्षदेखि ग्राहकको विश्वास कायम राख्दै आएको कम्पनीले उत्कृष्ट सेवा र व्यावसायिक अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। ‘खुसी प्रदान गर्दै’ भन्ने मूल नारासहित सेवा दिँदै आएको शिखर इन्स्योरेन्सले यस उपलब्धिलाई आफ्नो संस्थागत यात्राको महत्वपूर्ण सफलताका रूपमा लिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।